केन्द्रीय सदस्यलाई स्थानीय तहमा खटाउने र उम्मेदवार छनोटमा केन्द्रको हस्तक्षेप हटाउने सभापति थापाको भनाइ
पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो व्यक्तिगत व्यवहार र निर्णयका कारण पार्टीका कुनै पनि नेता तथा कार्यकर्ताले अप्ठ्यारो महसुस गर्नुपर्ने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। पोखरामा आयोजित कार्यक्रममा बोल्दै उनले सभापतिको पदलाई विशेष हैसियतभन्दा पनि जिम्मेवारीका रूपमा बुझ्नुपर्ने बताए।
थापाले पार्टीभित्र सबै नेता तथा कार्यकर्ताको भूमिका महत्त्वपूर्ण र समान रहेको उल्लेख गरे। चार वर्षका लागि आफूलाई सभापतिको जिम्मेवारी दिइएको भन्दै उनले आफ्नो आचरण, निर्णय र कामले पार्टीका सदस्यहरूको प्रतिष्ठामा आँच आउन नदिने बताए।
पार्टीलाई राजधानी केन्द्रित बनाउने प्रवृत्ति अन्त्य गर्नुपर्ने धारणा राख्दै थापाले केन्द्रीय सदस्यहरूलाई काठमाडौंमा मात्र सीमित नराखी स्थानीय तहमा सक्रिय बनाउने योजना सुनाए। केन्द्रीय जिम्मेवारीमा रहेका नेताहरूले पनि जनतामाझ पुगेर पार्टीका गतिविधि सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो।
उनले पार्टीको विधानअनुसार स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोट गर्ने अधिकार सम्बन्धित स्थानीय तहका पार्टी सदस्यहरूलाई हुने बताए। केन्द्रबाट उम्मेदवार तय गरेर स्थानीय तहमा लाद्ने अभ्यासको सट्टा स्थानीय स्तरबाटै छनोट प्रक्रिया अघि बढाइने उनको दाबी थियो।
थापाका अनुसार पार्टीभित्र जिम्मेवारीको विकेन्द्रीकरण, स्थानीय नेतृत्वको भूमिका विस्तार र जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने विषयलाई प्राथमिकता दिइनेछ।
