४५० भन्दा बढी प्रजातिका फूल तथा बिरुवा प्रदर्शन गरिने, ३९ हजारभन्दा बढी दर्शक आउने आयोजकको अनुमान
काठमाडौं । तिहार र छठ पर्वलाई लक्षित गर्दै ललितपुरको जावलाखेल खेल मैदानमा कात्तिक १२ देखि १६ गतेसम्म १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आयोजना हुने भएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले आयोजना गर्न लागेको पाँचदिने प्रदर्शनीबारे पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।
‘रोपेर फूल गोदावरी, सजाऔँ घरआँगन वरिपरि’ भन्ने नारासहित आयोजना हुने प्रदर्शनीको उद्घाटन कात्तिक १२ गते बिहान ११ बजे बागमती प्रदेशका वन तथा वातावरणमन्त्री रमा आले मगरले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
प्रदर्शनीमा व्यावसायिक, प्लान्ट क्लिनिक, आधिकारिक, प्रतियोगितात्मक तथा फोटो सेल्फी स्टल गरी कुल ८६ वटा स्टल रहनेछन्। तीमध्ये ७८ वटा व्यावसायिक स्टल हुनेछन्। आगन्तुकले ४५० भन्दा बढी प्रजातिका गोदावरी फूलका साथै सयपत्री, मखमली र अन्य सजावटी बिरुवाको अवलोकन तथा खरिद गर्न सक्नेछन्।
गोदावरी फूलको गुणस्तर र उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले पाँच विधामा प्रतिस्पर्धा गराइनेछ। मिनिएचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र कट फ्लावर विधामा उत्कृष्ट हुने नर्सरी तथा फर्मलाई नगद पुरस्कार, शिल्ड र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ।
फूल तथा बिरुवामा लाग्ने रोग र किरासम्बन्धी समस्या समाधान गर्न प्रदर्शनीस्थलमा प्लान्ट क्लिनिक पनि सञ्चालन हुनेछ। त्यहाँ बाली रोग विशेषज्ञमार्फत निःशुल्क परामर्श सेवा उपलब्ध गराइनेछ।
प्रदर्शनीमा ३९ हजारभन्दा बढी दर्शक सहभागी हुने र एक करोड ३० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने फ्यानको अपेक्षा छ।
५४ जिल्लामा फैलियो फूल खेती
पत्रकार सम्मेलनमा सार्वजनिक विवरणअनुसार नेपालको पुष्प व्यवसाय हाल ५४ जिल्लामा विस्तार भएको छ। देशभर करिब ३२५ हेक्टर क्षेत्रफलमा फूल खेती हुँदै आएको छ। यस क्षेत्रमा ११ अर्ब ५० करोड रुपैयाँभन्दा बढी लगानी रहेको र ६२ हजार ५०० भन्दा बढीले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएको तथ्याङ्क प्रस्तुत गरिएको छ।
अघिल्लो वर्ष आर्थिक मन्दी तथा बीउबिजन आयातमा देखिएका नीतिगत समस्याले आन्तरिक उत्पादन प्रभावित भए पनि चालु आर्थिक वर्षमा व्यवसायमा सुधार आएको आयोजकको भनाइ छ। अघिल्लो वर्षको तुलनामा १६.९१ प्रतिशत वृद्धि हुने अनुमानसहित यस वर्ष पुष्प व्यवसायको कुल वार्षिक कारोबार करिब तीन अर्ब ९४ करोड रुपैयाँ पुग्ने अपेक्षा गरिएको छ।
यद्यपि, नेपाली पुष्प बजारमा आयातको हिस्सा अझै ठूलो रहेको तथ्याङ्कले देखाउँछ। भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८०/८१ मा फूल तथा पुष्पजन्य वस्तुको आयात अघिल्लो वर्षको तुलनामा १०५.६६ प्रतिशतले बढेर २६ करोड १३ लाख रुपैयाँ पुगेको थियो।
यस अवधिमा पुष्पजन्य वस्तुको निर्यात भने ४५.७१ प्रतिशतले घटेर एक करोड १५ लाख रुपैयाँमा सीमित भएको थियो। उक्त तथ्याङ्कअनुसार आयातको मूल्य निर्यातको तुलनामा करिब २२ गुणा बढी देखिन्छ।
फूलको बीउ, मदर प्लान्ट तथा कट फ्लावरका लागि नेपाल भारत, नेदरल्यान्ड्स र चीनलगायतका देशमा निर्भर रहँदै आएको छ। स्वदेशी उत्पादन र गुणस्तर वृद्धि गर्दै पुष्प व्यवसायलाई थप प्रतिस्पर्धी बनाउनु यस क्षेत्रका लागि महत्त्वपूर्ण चुनौती देखिएको छ।
