नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भगवान् जन्मिएर हैरान पारेको टिप्पणी गरेका छन्।
मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै ओलीले धार्मिक मान्यता, योग दर्शन र समाजमा देखिएको अन्धभक्तिप्रति व्यङ्ग्य गरेका छन्। पार्वतीले देवताहरूलाई सराप दिएपछि देवताका सन्तान जन्मिने क्रम रोकिएको र त्यसपछि नक्कली भगवान् जन्मिन थालेको उनको टिप्पणी छ।
भारततिरबाट आउने जोगीहरूलाई देख्नेबित्तिकै खुट्टा समातेर ढोग्ने प्रवृत्ति रहेको उनले बताएका छन्। पछिल्लो समय योगलाई पनि ईश्वरसँग जोडेर भ्रम सिर्जना गर्न खोजिएको आरोपसमेत उनले लगाएका छन्। योग सुरुवाती चरणमा कुनै ईश्वरसँग सम्बन्धित नरहेको उनको दाबी छ।
अष्टाङ्ग योगका यम र नियमले हिंसा नगर्न, असत्य नबोल्न, सत्य बोल्न, शान्तिको मार्गमा हिँड्न र अरूको सम्पत्तिमा लोभ नगर्न सिकाउने उनले बताएका छन्। यसलाई नै आधार बनाएर अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन्। अरूको सम्पत्तिमा लोभ नगर्ने र आफ्नो जायज हकमा मात्र सीमित रहने मान्यता आफूहरूले खोजेको सामाजिक आदर्शसँग मेल खाने उनको भनाइ छ।
अध्यक्ष ओलीले पतञ्जलिको योगमा आइपुग्दा योग दर्शन ईश्वरवादसँग मिसिएको दाबी गरेका छन्। त्यसअघि सांख्य र शैव परम्परामा योग ईश्वरवादसँग नमिसिएको उनको दाबी छ।
उनले भने, ‘सत्यबाट हामी आफ्ना विचार बनाउन प्रस्थान गर्न थाल्छौँ। त्यहीँबाट हाम्रा विचारको प्रस्थान हुन्छ, न्यायबाट र मानवतावादबाट। यसैकारण अष्टाङ्ग योगको अष्टाङ्गमध्येको पहिलोले के भन्छ भन्दा यम, दोस्रोले के भन्छ भन्दा नियम। यो गर, यो नगर। यम, नियम भनेको त्यही हो। हिंसा नगर, असत्य नबोल, सत्य बोल, शान्तिको मार्गमा हिँड, सबैको सुरक्षा गर भन्छ। अस्तेय, अर्काको सम्पत्तिमा लोभ नगर। आफ्नो हकको, जायज हकको चीजमा बाहेक अन्त कुनै लोभ नगर भन्छ। हामीले खोजेकै त्यही त हो नि!
तर यसमा के छ भने यहाँ आइपुग्दाखेरि, योग पतञ्जलिमा आइपुग्दाखेरि ईश्वरवादमा मिसिन गएको छ। त्योभन्दा अगाडि ईश्वरवादमा योग मिसिँदैन। सांख्यमा ईश्वरवादमा योग मिसिँदैन, शैवमा ईश्वरवादमा योग मिसिँदैन। आदियोगी शिवले ईश्वरवादको कुरा गर्दैनन्, योगको कुरा गर्छन्। बलियो, स्वस्थ दिमाग र स्वस्थ शरीर राख। शिवको योगमा त्यो हुन्छ र सांख्य योगमा पनि त्यही हुन्छ।
अब २२–२३ सय वर्ष अगाडि आइपुग्दाखेरि भगवान्हरू छ्याप्छ्याप्ती जन्मिँदा जन्मिँदा ३३ कोटि जन्मिए। धन्न पार्वतीले सराप दिइछन् र त्यसपछि देवता जन्मिन पाएनन्। पार्वतीले ‘अब उप्रान्त निसन्तान हुनु’ भनेर सराप दिइन्। अब कुनै देवताको पनि तिमीहरूको सन्तान नहोस्। भनेपछि देवताहरूको जन्म ठप्प भयो। अब देवता बढी जन्मिँदैनन्। तर पार्वतीले सराप दिएपछि फेरि भगवान्हरू, नक्कली भगवान् जन्मिएर हैरान छ। हामी आफैँले पनि दक्षिणतिरका जोगीहरू आए भने ठ्याप्पै खुट्टा समातेर ढोग्न मन लागिहाल्ने चलन छ।’
ओलीले योगले स्वस्थ शरीर र स्वस्थ मस्तिष्कको विकासमा सहयोग गर्ने बताएका छन्। उनले मदन भण्डारी स्मृति प्रतिष्ठानलाई नयाँ खोज, अनुसन्धान तथा रैथाने ज्ञान, सीप र परम्पराको खोजीमा ध्यान दिन पनि आग्रह गरेका छन्।
