जोर्डनले सोमबार दक्षिणी सिरियामा हवाई आक्रमण गरेको छ । जोर्डनको सशस्त्र बलका अनुसार दक्षिणी जोर्डनको कराक प्रान्तस्थित चर्चमा भएको घातक आक्रमणमा संलग्न लडाकु समूहका अखडालाई लक्षित गरी उक्त आक्रमण गरिएको हो ।
जोर्डनको सशस्त्र बलले शुक्रबार चर्चमा भएको आक्रमणको जवाफस्वरूप हवाई कारबाही गरिएको जनाएको छ । उक्त कारबाही सिरियाली अधिकारीहरूसँग समन्वय गरेर सञ्चालन गरिएको जोर्डनी सेनाको दाबी छ ।
तर, सिरियाको सरकारी समाचार संस्था सानाले सोमबार साँझ दक्षिणी सिरियाको दाराअ क्षेत्रको ग्रामीण इलाकामा भएको जोर्डनी हवाई आक्रमणमा बालबालिकासहित सात जनाको मृत्यु भएको र अन्य तीन जना घाइते भएको जनाएको छ । सानाले प्रान्तीय स्वास्थ्य निर्देशनालयका प्रमुखलाई उद्धृत गर्दै उक्त विवरण सार्वजनिक गरेको हो ।
आक्रमणपछि सिरियाली अधिकारीहरूले दक्षिणी क्षेत्रमा विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताएका छन् । साथै, उक्त सैन्य कारबाहीबारे सिरियाली पक्षसँग अग्रिम समन्वय नगरिएको उनीहरूको भनाइ छ ।
सिरियाली अधिकारीहरूले हवाई आक्रमणबारे अनुसन्धान सुरु गरेको र घटनाका विषयमा छलफल गर्न जोर्डनसँग सञ्चार सम्पर्क कायम राखेको बताएका छन् ।
गत शुक्रबार दक्षिणी जोर्डनको कराक प्रान्तमा अन्त्येष्टिमा सहभागी मानिसहरूमाथि बन्दुकधारीहरूले गोली चलाएका थिए । उक्त आक्रमणमा नौ जनाको मृत्यु भएको थियो भने कम्तीमा ३४ जना घाइते भएका थिए ।
