इस्लामाबादमा सोमबार आयोजित विशेष समारोहमा चीन र पाकिस्तानले ‘चीन–पाकिस्तान इन्फर्मेसन करिडोर’को औपचारिक सुरुवात गरेका छन् । दुई देशबीच सञ्चार, तथ्य जाँच (फ्याक्ट चेकिङ), अनुसन्धान तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले सुरु गरिएको यो पहलले आर्थिक सहकार्यलाई जनस्तरसम्म विस्तार गर्ने लक्ष्य लिएको छ ।
पाकिस्तानका सूचना तथा प्रसारणमन्त्री अत्ताउल्लाह तरार, चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता तथा प्रेस, सञ्चार र सार्वजनिक कूटनीति विभागकी महानिर्देशक माओ निङ र पाकिस्तानका लागि चिनियाँ राजदूत जियाङ जाइदङले संयुक्त रूपमा उद्घाटन गरेको उक्त कार्यक्रममा ६०० भन्दा बढी प्रतिनिधि सहभागी भएका थिए ।
सम्बोधनका क्रममा मन्त्री तरारले चीन–पाकिस्तान आर्थिक करिडोरले दुई देशको अर्थतन्त्रलाई जोडेको स्मरण गर्दै ‘इन्फर्मेसन करिडोर’ले जनस्तरमा सम्बन्ध विस्तार गर्ने विश्वास व्यक्त गरे । उनले यो पहलले सञ्चारमाध्यमबीचको सहकार्य, तथ्य जाँचमार्फत गलत सूचनाको नियन्त्रण, व्यावसायिक सञ्जालको विस्तार, बौद्धिक आदानप्रदान र पर्यटन प्रवर्द्धनमा जोड दिने स्पष्ट पारे ।
चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले चीन र पाकिस्तानलाई ‘सबै मौसमका रणनीतिक साझेदार’को संज्ञा दिँदै कथाहरूले जनताको सोच र व्यवहार बदल्न सक्ने बताइन् । उनले भनिन्, “यो करिडोरले दुई देशबीचको सहयोगलाई जनस्तरसम्म पुर्याउन र जनताका हृदयलाई जोड्ने पुलका रूपमा काम गर्नेछ ।”
राजदूत जियाङ जाइदङले विभिन्न निकायको कडा परिश्रम र समन्वयले यो अवधारणा साकार भएको भन्दै दुई देशको विकास र साझा भविष्यको कथालाई अझ प्रभावकारी रूपमा सम्प्रेषण गर्न मद्दत पुग्ने बताए ।
कार्यक्रममा दुवै देशको कला, संस्कृति र खानपानलाई विशेष महत्त्वका साथ प्रदर्शन गरिएको थियो । सांस्कृतिक कार्यक्रममार्फत दुई राष्ट्रबीचको परम्परागत मित्रतालाई थप जीवन्त बनाउने प्रयास गरिएको थियो ।
