इजिप्ट र इरानका विदेशमन्त्रीबीच क्षेत्रीय घटनाक्रम तथा बढ्दो तनाव कम गर्ने प्रयासबारे टेलिफोन वार्ता भएको छ । इजिप्टको विदेश मन्त्रालयका अनुसार विदेशमन्त्री बद्र अब्देलाट्टी र इरानी विदेशमन्त्री सैयद अब्बास अराघ्चीबीच मंगलबार टेलिफोन वार्ता भएको हो ।
वार्ताका क्रममा पछिल्लो क्षेत्रीय घटनाक्रमलाई सम्बोधन गर्ने सम्भावित उपायबारे छलफल भएको थियो । विदेशमन्त्री अब्देलाट्टीले क्षेत्रीय तनाव बढ्दै गएको अवस्थामा त्यसलाई कम गर्न सबै पक्षले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।
यसअघि सोमबार इरान, साउदी अरब, पाकिस्तान र टर्कीका उच्च अधिकारीहरू तेहरानमा भेला भएका थिए । उनीहरूले क्षेत्रीय शान्ति तथा सुरक्षा प्रवर्द्धनका लागि सहकार्य सुदृढ गर्न वार्तालाई निरन्तरता दिने सहमति गरेका थिए । उक्त बैठकको सन्दर्भ उल्लेख गर्दै अब्देलाट्टीले तनाव नियन्त्रण गर्न र क्षेत्रीय सङ्कट थप विस्तार हुन नदिन भइरहेका सबै प्रयासप्रति इजिप्टको पूर्ण समर्थन रहेको बताएका थिए ।
दुई विदेशमन्त्रीबीच इरान र क्षेत्रीय चार देशीय मन्त्रीस्तरीय संयन्त्रबीच जारी परामर्शबारे पनि छलफल भएको थियो । उक्त संयन्त्रमा इजिप्ट, साउदी अरब, पाकिस्तान र टर्की सहभागी छन् ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत शुक्रबार इरानमाथि पुनः सैन्य आक्रमण हुन सक्ने सङ्केत दिएका थिए । उनले इरानविरुद्ध फेरि ‘एपिक फ्युरी’ नामको सैन्य कारबाही गर्न सकिने बताएका थिए । यही नाममा अमेरिकाले फेब्रुअरी २८ मा इजरायलसँग मिलेर इरानविरुद्ध ठूलो सैन्य अभियान सुरु गरेको थियो ।
इरान र साउदी अरबबीचको तनाव तथा यमनको हुथी समूहसँग बढ्दो शत्रुताका बीच इजिप्टको संसद्ले सोमबार साउदी अरबलाई बाह्य आक्रमणबाट जोगाउन सहयोग तथा रक्षा गर्न राष्ट्रपति अब्देल फताह अल–सिसीलाई आवश्यक कदम चाल्ने अधिकार दिएको थियो ।
क्षेत्रीय तनाव बढिरहेका बेला इजिप्ट र इरानका विदेशमन्त्रीबीच भएको पछिल्लो वार्तालाई क्षेत्रीय सङ्कट नियन्त्रण गर्ने कूटनीतिक प्रयासका रूपमा हेरिएको छ ।
