११ कात्तिक, काठमाडौं । एलपी ग्यास बिक्री गर्दा उपभोक्तालाई अनिवार्य रूपमा भ्याट बिल वा बीजक उपलब्ध गराउनुपर्ने नेपाल आयल निगमको निर्देशनलाई ग्यास विक्रेता महासंघ नेपालले स्वागत गरेको छ।
महासंघले बुधबार विज्ञप्ति जारी गर्दै ग्यास कारोबारलाई पारदर्शी, व्यवस्थित र सुरक्षित बनाउन निगमले चालेको कदम सकारात्मक रहेको जनाएको हो।
गत ९ कात्तिकमा निगमको एलपी ग्यास तथा एभिएसन विभागले सबै ग्यास उद्योगलाई पत्राचार गर्दै बिक्रेतामार्फत उपभोक्तालाई अनिवार्य रूपमा बिल उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएको थियो। ग्यास बिक्री गरेपछि उपभोक्तालाई बिलबिजक नदिएको गुनासो बढेपछि निगमले यस्तो व्यवस्था गर्न निर्देशन दिएको हो।
महासंघका अनुसार ग्यासको कारोबारलाई व्यवस्थित र सुरक्षित बनाउन यसअघि पनि निगमसमक्ष विभिन्न सुझाव प्रस्तुत गर्दै आवश्यक व्यवस्था गर्न आग्रह गरिँदै आएको थियो। ग्यास बिक्रीमा भ्याट बिल वा बीजक अनिवार्य गर्ने व्यवस्था यस क्षेत्रको सुधारका लागि महत्त्वपूर्ण कदम हुने महासंघको ठहर छ।
महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले निगमको निर्देशन पूर्ण रूपमा कार्यान्वयन गर्न सबै ग्यास व्यवसायीलाई आग्रह गरेका छन्। उनले कारोबारका क्रममा उपभोक्तालाई अनिवार्य रूपमा बिल उपलब्ध गराउने व्यवस्था पालना गर्न व्यवसायीलाई अनुरोध गरेका हुन्।
त्यस्तै, महासंघले ग्यास खरिद गर्दा बिक्रेतासँग बिल वा बीजक माग्ने र अनिवार्य रूपमा लिने बानी बसाल्न आम उपभोक्तालाई पनि आग्रह गरेको छ।
