नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग तथा काठमाडौं महानगरपालिकाको विशेष सहकार्यमा कार्यक्रम आयोजना गरिएको समितिले जनाएको छ। ‘रक्तदान जीवनदान’ भन्ने भावनाका साथ आयोजित कार्यक्रममा असनका स्थानीय बासिन्दाले रक्तदान गरेका छन्। कार्यक्रममा रक्तदान गर्ने सहभागीलाई प्रमाणपत्रसमेत प्रदान गरिएको छ।
यसैबीच, नेपाल रेडक्रस सोसाइटीले अस्पतालमा उपचाररत बिरामीका लागि रगतको माग बढ्दै गएको र रक्तसञ्चार केन्द्रमा मौज्दात घटेपछि सर्वसाधारणलाई रक्तदान गर्न विशेष आग्रह गरेको छ। बडादशैँको लामो बिदाका कारण केन्द्रीय रक्तसञ्चार सेवामा रक्तदान कार्यक्रम सञ्चालन हुन नसकेको तथा अस्पतालमा बिरामीका लागि रगतको माग दिनानुदिन बढ्दै गएकाले अभाव भएको रेडक्रसले जनाएको छ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाका प्रमुख डा. प्रकाश यादवका अनुसार रक्तसञ्चार केन्द्रमा सबै रक्तसमूहको होल ब्लड र प्याक्ड रेड ब्लड सेल (पीआरबीसी) लगायतका रक्तघटकको मौज्दात सकिएको छ। यसले गर्दा बिरामीलाई आवश्यक रगत व्यवस्थापन गर्न कठिनाइ भइरहेको सोसाइटीले जनाएको छ।
डा. यादवले रक्तदान गरेको तीन महिना पूरा भएका स्वयंसेवी रक्तदाता तथा १८ वर्ष उमेर पूरा भएका स्वस्थ युवा–युवतीलाई रक्तदान गर्न आग्रह गरेका छन्।
नेपाल रेडक्रस सोसाइटीले ७३ जिल्लाका १२० स्थानमा रहेका रक्तसञ्चार सेवा केन्द्र तथा एकाइमार्फत सेवा सञ्चालन गर्दै आएको छ। बिरामीका लागि रगत आवश्यक परेमा वा रक्तदानसम्बन्धी जानकारी लिन केन्द्रीय रक्तसञ्चार सेवाको फोन नम्बर ०१–५३८८४८५ र ०१–५३८८४८६ मा सम्पर्क गर्न सकिने रेडक्रसले जनाएको छ। त्यस्तै, निःशुल्क हटलाइन नम्बर ११३० मा पनि सम्पर्क गर्न सकिनेछ।
