नेपाल मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलले देशका धेरै स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको बताएकी छन्। केही स्थानमा बेलुकादेखि हल्कादेखि मध्यम वर्षा हुन सक्ने उनको भनाइ छ। भारी वर्षाको सम्भावना भने थोरै स्थानमा मात्र रहेको उनले बताइन्।
उच्च पहाडी तथा हिमाली भूभागमा बेलुकादेखि हिमपात हुन सक्ने भएकाले सतर्कता अपनाउन उनले आग्रह गरिन्। बिहीबार बेलुकादेखि शनिबारसम्म उच्च पहाडी तथा हिमाली क्षेत्रमा विशेष सतर्कता अपनाउनुपर्ने उनले बताइन्। यस अवधिमा अन्य भूभागमा पनि हल्कादेखि मध्यम वर्षा हुन सक्ने उनको भनाइ छ।
उनले भनिन्, ‘आज लगभग देशभरि बदली नै हुने देखिन्छ। केही ठाउँमा हल्का वर्षाको सम्भावना रहन्छ। बेलुका भने थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ। साथै, बेलुकादेखि नै उच्च हिमाली तथा पहाडी भूभागमा हिमपातको सम्भावना छ।
आज बेलुकादेखि शनिबारसम्म हामीले विशेष सतर्कता अपनाउन आग्रह गरेका छौँ। विशेष गरी उच्च पहाडी र हिमाली भूभागमा बढी सतर्क हुनुपर्ने देखिन्छ। अन्य स्थानमा पनि हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। भारी वर्षाको सम्भावना भने निकै कम स्थानमा रहेको छ।
धान काट्ने किसानलाई पाकिसकेको धान तत्काल नकाट्न हामीले यसअघि नै सुझाव दिएका थियौँ। मौसमको यो अवस्था सकिएपछि धान काट्न कुनै समस्या हुँदैन।’
पोखरेलले मौसममा हुने परिवर्तनलाई ध्यानमा राख्दै पाकिसकेको धान काट्ने काम तत्काल नगर्न सुझाव दिइन्। आइतबारदेखि धान काट्न सकिने पनि उनले बताइन्।
