काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बिहीबार बिहानै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन्। प्रधानमन्त्री कार्यालयमा उपस्थित भए पनि आज मन्त्रिपरिषद् बैठक बस्ने वा नबस्नेबारे भने टुङ्गो लागिनसकेको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार शाह नियमित कार्यालय समयभित्रै सिंहदरबार पुगेका हुन्। तर, मन्त्रिपरिषद् बैठकका लागि अहिलेसम्म कुनै औपचारिक सूचना जारी नभएको उनले बताए।
सामान्यतया साताको सोमबार र बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने प्रचलन छ। तर, यस साता निर्धारित समयमा बैठक बस्न सकेको छैन। बिहीबार पनि बैठकको निश्चित कार्यक्रम नबनेपछि सरकारका आगामी निर्णयबारे चासो बढेको छ।
यसअघि बुधबार प्रधानमन्त्री शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच बुढानीलकण्ठस्थित लामिछानेको निवासमा लामो छलफल भएको थियो। उनीहरूबीच सरकारका कामकारबाही र पार्टीका गतिविधिबारे विचारविमर्श भएको बताइएको छ।
छलफलमा निजामती कर्मचारीसम्बन्धी अध्यादेश, प्रहरी महानिरीक्षक दानबहादुर कार्की तथा खगेन्द्र सुनारसँग सम्बन्धित विषयमा उठेका प्रश्नहरूबारे समेत कुराकानी भएको विवरण छ।
यसैबीच, प्रहरी महानिरीक्षक कार्कीले बिहीबार दिउँसो प्रहरी प्रधान कार्यालयमा उच्च प्रहरी अधिकारीहरूसँग बैठक गर्ने तयारी गरेका छन्। प्रहरी समन्वय समितिको (पीसीसी) बैठकका लागि उनले सातै प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई बोलाएको बताइएको छ।
प्रधानमन्त्री कार्यालयमा उपस्थिति र सरकारका पछिल्ला गतिविधिका बीच आज मन्त्रिपरिषद् बैठक बस्छ वा बस्दैन भन्ने विषय भने अझै अनिश्चित छ।
