काठमाडौं । स्थानीय तहलाई दलीय राजनीतिको प्रभावबाट मुक्त गराउनुपर्ने माग गर्दै ‘गैरदलीय स्थानीय तह अभियान नेपाल’ ले काठमाडौंको माइतीघर मण्डलामा ऐक्यबद्धता सभा आयोजना गरेको छ।
स्थानीय सरकारको सञ्चालन र निर्णय प्रक्रियामा राजनीतिक दलहरूको हस्तक्षेप बढ्दै गएको भन्दै अभियानले दबाब सिर्जना गर्न कार्यक्रम आयोजना गरेको हो।
स्थानीय तहको निर्वाचन र शासन सञ्चालनमा दलीय भागबन्डा तथा राजनीतिक हस्तक्षेपका कारण विकास निर्माण र सार्वजनिक सेवा प्रवाहमा नकारात्मक असर परेको अभियानको भनाइ छ। यस विषयमा अभियानले लामो समयदेखि आवाज उठाउँदै आएको छ।
अभियानका अनुसार स्थानीय तह दलीय प्रतिस्पर्धा गर्ने थलो नभई नागरिकलाई सेवा प्रदान गर्ने र स्थानीय विकासलाई प्राथमिकता दिने केन्द्र हुनुपर्छ। अभियानले यसअघि पनि देशभर यस विषयमा बहस चलाउँदै आएको छ।
राजनीतिक दलको निर्देशनमा चल्नुपर्ने अवस्थाका कारण जनप्रतिनिधिहरू जनताप्रति भन्दा पार्टीप्रति बढी उत्तरदायी हुनुपर्ने बाध्यता रहेको अभियानको ठहर छ। यस अवस्थालाई नीतिगत रूपमै सुधार गर्नुपर्ने माग पनि अभियानले गर्दै आएको छ।
अभियानले स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरूले उम्मेदवारी दिने व्यवस्थामा परिवर्तन गरी स्वतन्त्र व्यक्तिले मात्रै प्रतिस्पर्धा गर्न पाउने व्यवस्था लागू गर्नुपर्ने माग राख्दै पैरवी गर्दै आएको छ।
