मुम्बई । दक्षिण भारतीय अभिनेत्री साई पल्लवीले आफ्नो भावी जीवनसाथीमा हुनुपर्ने गुणबारे धारणा सार्वजनिक गरेकी छन्। उनका अनुसार जीवनसाथी असल स्वभावको, कम स्वार्थी र आफ्नो गल्ती स्वीकार गरेर सुधार गर्न सक्ने व्यक्ति हुनुपर्छ।
बहुप्रतीक्षित फिल्म ‘रामायण भाग १’ मा देवी सीताको भूमिका निर्वाह गर्न लागेकी साई पछिल्लो समय चर्चामा छिन्। फिल्मको प्रचारका क्रममा उनी सहकलाकार रणवीर कपुर र रवि दुबेसँग लोकप्रिय टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति १८’ मा सहभागी भएकी थिइन्।
कार्यक्रमका प्रस्तोता अमिताभ बच्चनले जीवनसाथीमा कस्ता गुण खोज्ने भन्ने प्रश्न गर्दा साईले व्यक्तिको चरित्र र व्यवहारलाई प्राथमिकता दिने बताइन्। उनका अनुसार आफ्नो गल्तीको जिम्मेवारी लिन सक्ने र अरूलाई दोष दिनुभन्दा आफूलाई सुधार्न खोज्ने व्यक्ति जीवनसाथीका रूपमा उपयुक्त हुन्छ। खाना पकाउन जान्ने साथी भए अझ राम्रो हुने उनको भनाइ थियो।
चिकित्सकबाट अभिनेत्री बन्ने यात्राबारे पनि खुलासा
कार्यक्रममा अमिताभले चिकित्साशास्त्र अध्ययन गरेपछि अभिनयलाई पेसा बनाउनुको कारणबारे पनि जिज्ञासा राखेका थिए। त्यसको जवाफमा साईले अभिनय आफ्नो भाग्यमा लेखिएको भन्दै रोचक प्रतिक्रिया दिइन्।
उनको जवाफपछि रणवीर कपुरले ईश्वरले नै अभिनय गर्न निर्देशन दिएको आशयमा ठट्टा गरेका थिए। रणवीरको उक्त टिप्पणीले कार्यक्रममा उपस्थित दर्शकबीच हाँसो र तालीको माहोल बनेको थियो।
सीताको भूमिका स्वीकार्दा फरक सोच
‘रामायण’ मा सीताको भूमिका निर्वाह गर्ने अवसर पाउँदाको अनुभव सुनाउँदै साईले आफूले अन्य पात्रभन्दा यस भूमिकालाई फरक दृष्टिकोणबाट हेरेको बताएकी छन्।
अन्य भूमिका प्राप्त हुँदा आफूले त्यसमा के योगदान दिन सक्छु भनेर सोच्ने गरेको भए पनि सीताको चरित्रका लागि भने त्यसबाट आफूले के सिक्न सक्छु भन्ने प्रश्न मनमा आएको उनले बताइन्। त्यसपछि सीता माताको प्रार्थना गर्दै आफूले अभिनयको यात्रा अघि बढाएको उनको भनाइ छ।
यस्तो छ ‘रामायण भाग १’ को कलाकार टोली
नितेश तिवारीको निर्देशनमा निर्माण भइरहेको यो पौराणिक फिल्ममा रणवीर कपुर भगवान् राम, साई पल्लवी सीता, रवि दुबे लक्ष्मण, यश रावण र सन्नी देओल हनुमानको भूमिकामा देखिनेछन्।
फिल्ममा अरुण गोभिल, लारा दत्ता, रकुल प्रीत सिंह, काजोल अग्रवाल र विवेक ओबरायलगायत कलाकार पनि आबद्ध छन्। यश र नमित मल्होत्राले निर्माण गरिरहेको यस चलचित्रलाई दुई भागमा प्रदर्शन गर्ने योजना छ।
उपलब्ध विवरणअनुसार पहिलो भाग सन् २०२६ नोभेम्बर ५ मा प्रदर्शन गर्ने तयारी छ भने दोस्रो भाग सन् २०२७ को तिहार आसपास सार्वजनिक गर्ने लक्ष्य राखिएको छ। फिल्मको निर्माण बजेट करिब चार हजार करोड रुपैयाँ अनुमान गरिएको छ।
