केन्द्रीय निर्वाचन समितिका अनुसार आजको समारोहमा पार्टी सभापतिबाहेक अन्य सबै पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिनेछन्। नवनिर्वाचित सभापति गगनकुमार थापाले दसैँको फूलपातीका दिन असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका छन्।
निर्वाचन समितिका सदस्यसचिव अधिवक्ता राजु कटुवालले शपथ ग्रहण कार्यक्रम विगतभन्दा फरक ढाँचामा आयोजना गरिने र नवनिर्वाचित नेताहरूलाई प्रमाणपत्र वितरणसँगै आजै पदबहालीसमेत गराइने जानकारी दिएका छन्।
गत असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम नतिजा असोज ३० गते औपचारिक रूपमा सार्वजनिक गरिएको थियो। महाधिवेशनको उद्घाटन र बन्दसत्र खुला मञ्चमा आयोजना गरिएको थियो भने मतदान खुला मञ्च र राष्ट्रिय सभागृहमा भएको थियो।
महाधिवेशनको मतदान असोज २३ गते भएको थियो। सोही दिन राति राष्ट्रिय सभागृहमा सभापति पदको मतगणना सुरु गरिएको थियो। सभापति पदको मतपरिणाम असोज २४ गते बिहान सार्वजनिक भएको थियो।
अन्य पदको मतगणना भने असोज २४ गते रातिदेखि पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, सानेपामा गरिएको थियो। १४औँ महाधिवेशनमा चार हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेकोमा यसपटक सात हजार ३९२ मतदाताको मतगणना एक सातामै सम्पन्न भएको सदस्यसचिव कटुवालले जानकारी दिएका छन्।
यसपटक झन्डै एक लाख ६२ हजार मतपत्र गणना गर्नुपरेको उनले बताएका छन्। कुल २२९ पदका लागि निर्वाचन भएकोमा ७७ प्रकारका पद रहेका थिए। प्रत्येक मतदाताले २३ वटा मतपत्रमार्फत मतदान गर्नुपर्ने व्यवस्था गरिएको थियो।
महाधिवेशनबाट सभापतिमा गगनकुमार थापा ९४ प्रतिशत मतसहित निर्वाचित भएका थिए। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल तथा समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित भएका थिए।
त्यस्तै, महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डा. डिला संग्रौला (पन्त) निर्वाचित भएका थिए। महाधिवेशनबाट समावेशी तथा प्राज्ञिक प्रतिनिधित्वसहितको नयाँ केन्द्रीय कार्यसमिति चयन भएको छ।
शपथ ग्रहण र पदबहालीपछि नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक पनि आजै सानेपामा बस्ने तयारी छ। बैठकले महाधिवेशन सम्पन्न गराउन सहयोग गर्ने प्रतिनिधि, निर्वाचन समिति, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा पार्टीका नेता–कार्यकर्तालाई धन्यवाद दिने विषयमा निर्णय गर्ने जनाइएको छ।
बैठकमा पार्टीका जिल्ला तथा प्रदेश अधिवेशनका विषयमा समेत छलफल हुने नेताहरूले जानकारी दिएका छन्।
