काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’का कारण नेपालका विभिन्न क्षेत्रमा वर्षा हुन सक्ने र त्यसले प्रमुख राजमार्गमा पहिरो, बाढी तथा सडक क्षतिको जोखिम बढाउन सक्ने चेतावनी दिइएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतका बाढी पूर्वानुमान महाशाखा र भौगर्भिक तथा जल उत्पन्न विपद् अनुसन्धान शाखाले बिहीबार सम्भावित जोखिमको प्रारम्भिक आकलन सार्वजनिक गर्दै सडक प्रयोगकर्तालाई सावधानी अपनाउन आग्रह गरेका हुन्।
सूचनाअनुसार विशेषगरी नारायणी, बागमती र कोशी नदी जलाधार क्षेत्र तथा आसपासका भूभागमा वर्षा भएमा राजमार्गका संवेदनशील खण्डमा पहिरोको जोखिम बढ्न सक्छ।
पहाडी सडकमा पहिरो, नदी किनारमा कटानको खतरा
वर्षाका कारण पहाडी तथा भिरालो भूभागमा रहेका सडकमा पहिरो खस्ने, ढुङ्गा झर्ने र सडक भासिने सम्भावना रहेको विज्ञप्तिमा उल्लेख छ। नदी किनारमा रहेका सडकमा पानीको सतह बढ्दा बाढी र कटानको जोखिमसमेत हुन सक्छ।
त्यस्तै, साना तथा ठूला खोलामा पानीको बहाव बढ्दा कल्भर्ट र सडक संरचनामा क्षति पुग्न सक्ने आकलन गरिएको छ।
यस्ता घटनाबाट सडक अवरुद्ध भएमा यात्रु आवागमनसँगै खाद्यान्न, औषधि र अन्य अत्यावश्यक सामग्रीको ढुवानी प्रभावित हुन सक्ने जोखिम रहेको छ।
यी राजमार्गका खण्डमा बढी सतर्कता आवश्यक
सम्बन्धित निकायले सम्भावित जोखिमलाई ध्यानमा राख्दै निम्न सडक तथा क्षेत्रलाई संवेदनशील मानेका छन्।
- नारायणगढ–मुग्लिन सडकखण्ड: त्रिशूली र नारायणी नदी आसपासका क्षेत्र।
- कोशी राजमार्ग: पहिरोको जोखिम रहेका पहाडी तथा भिरालो खण्ड।
- सिद्धार्थ राजमार्ग: पहिरो जान सक्ने संवेदनशील क्षेत्र।
- कान्ति राजमार्ग: बागमती जलाधार क्षेत्रसँग सम्बन्धित जोखिमयुक्त खण्ड।
- अरनिको राजमार्ग: वर्षाका कारण पहिरो तथा सडक अवरुद्ध हुन सक्ने क्षेत्र।
- अन्य राजमार्ग: विगतमा पहिरो गएका र नदी कटानको जोखिम भएका सडक खण्ड।
यी क्षेत्रमा मौसमको अवस्था र सडकको परिस्थितिअनुसार जोखिम फरक हुन सक्ने भएकाले यात्राअघि सम्बन्धित निकायबाट जानकारी लिन आवश्यक रहेको छ।
अत्यावश्यकबाहेक यात्रा नगर्न सुझाव
बाढी पूर्वानुमान महाशाखा र भौगर्भिक तथा जल उत्पन्न विपद् अनुसन्धान शाखाले वर्षा भइरहेको समयमा अत्यावश्यक कामबाहेक राजमार्गमा यात्रा नगर्न आग्रह गरेका छन्।
यात्रा गर्नैपर्ने अवस्थामा ट्राफिक प्रहरी वा सम्बन्धित सडक कार्यालयबाट सडकको अवस्थाबारे जानकारी लिएर मात्र गन्तव्यतर्फ लाग्न सुझाव दिइएको छ।
सम्भावित विपद्बाट हुने क्षति कम गर्न मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्न, जोखिमयुक्त स्थानमा अनावश्यक रूपमा नरोकिन र सडकमा पहिरो वा बाढीको संकेत देखिएमा सुरक्षित विकल्प अपनाउन आवश्यक छ।
