पक्राउ पर्नेमा भारतको अररिया, कुशाहाका २२ वर्षीय दीपककुमार बोसाक, कुटुमगन्जका ४० वर्षीय पुरन बोसाक र मोरङको रतुवामाई नगरपालिका–१ चुनिमारीका ३५ वर्षीय प्रमोद ठाकुर रहेका छन्।
मोरङ प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार गोली लागेर घाइते भएका दुवै भारतीय नागरिकको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ। उनीहरूको घुँडामुनिको भागमा गोली लागेको प्रहरीले जनाएको छ।
लागुऔषध ओसारपसार भइरहेको विशेष सूचना पाएपछि लागुऔषध नियन्त्रण ब्युरोको प्रहरी टोली परिचालन भएको थियो। सोही क्रममा राति करिब ९ः३० बजे रतुवामाई नगरपालिका–६, शनिश्चरेमा भारतीय नम्बर प्लेटको बीआर ३७ भी ३९२६ नम्बरको मोटरसाइकल र नम्बर नखुलेको अर्को मोटरसाइकलमा सवार तीन जनालाई प्रहरीले रोक्ने प्रयास गरेको थियो।
तर, प्रहरीलाई देखेपछि उनीहरू भाग्न खोजेपछि नियन्त्रणमा लिन गोली चलाउनुपरेको डीएसपी मिश्रले जानकारी दिए। उनका अनुसार प्रहरीले चाइनिज पेस्तोलबाट पाँच र ब्रेडा पेस्तोलबाट तीन गरी जम्मा आठ राउन्ड गोली प्रहार गरेको थियो।
घटनास्थलबाट प्रहरीले एक थान घरेलु पेस्तोल, त्यसमा प्रयोग हुने एक राउन्ड गोली, करिब ५०० ग्राम खैरो हेरोइन र मोटरसाइकल बरामद गरेको छ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरू लामो समयदेखि लागुऔषध कारोबारमा संलग्न रहँदै आएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी मिश्रले बताए।
