बेइजिङस्थित एक होटलमा चार दिनसम्म चलेको चिनियाँ कम्युनिस्ट पार्टीको पाँचौँ पूर्ण बैठक (पाँचौँ प्लेनम) बिहीबार सम्पन्न भएको थियो। बैठकमा केन्द्रीय समितिका २७९ जना सदस्य सहभागी थिए। यसअघि सन् २०२५ अक्टोबरमा सम्पन्न चौथो बैठकमा ३१५ जना र सन् २०२४ जुलाईको तेस्रो बैठकमा ३६४ जना सहभागी भएका थिए।
यसअघिका पूर्ण बैठकमा आर्थिक सुधार, सामाजिक विकास र अन्य नीतिगत विषयले प्राथमिकता पाउने गरे पनि यसपटक पार्टीभित्रको अनुशासन र भ्रष्टाचार नियन्त्रण मुख्य विषय बनेको छ।
चीनका राष्ट्रपति सी चिनफिङले सन् २०१२ मा सत्ता सम्हालेदेखि नै भ्रष्टाचारविरुद्धको अभियानलाई प्राथमिकतामा राख्दै आएका छन्। उनले भ्रष्टाचारलाई चिनियाँ कम्युनिस्ट पार्टीका लागि सबैभन्दा ठूलो खतराका रूपमा व्याख्या गर्दै आएका छन्।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पार्टीको अनुशासनसम्बन्धी आयोगका अधिकारी झाङ फुहाईले सन् २०१२ यता दुई करोडभन्दा बढी व्यक्तिमाथि विभिन्न अनुशासनहीन गतिविधिमा संलग्न भएको भन्दै कारबाही गरिएको जानकारी दिए। कारबाहीमा अनावश्यक औपचारिकता, कर्मचारीतन्त्रको प्रभाव, विलासी जीवनशैली र सार्वजनिक स्रोतको फजुल खर्चजस्ता विषय पनि समेटिएका छन्।
झाङले भ्रष्टाचार नियन्त्रणका लागि पार्टीले आगामी दिनमा थप कडा नीति अपनाउने बताए। उनका अनुसार पार्टीका अधिकारीमा भ्रष्टाचार गर्ने साहस, अवसर र चाहना तीनै पक्षलाई निरुत्साहित गर्ने वातावरण निर्माण गरिनेछ।
बैठकपछि जारी आधिकारिक वक्तव्यमा निष्कासित ३३ जनाले गम्भीर अनुशासनहीन तथा कानुनविपरीतका गतिविधि गरेको उल्लेख छ। यद्यपि उनीहरूमाथि लगाइएका आरोपको विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
सीको नेतृत्वमा सञ्चालित भ्रष्टाचारविरोधी अभियानलाई लिएर अन्तर्राष्ट्रिय विश्लेषकहरूले भने फरक दृष्टिकोण राख्दै आएका छन्। कार्नेगी चाइनाका गैरआवासीय अनुसन्धानकर्ता चोङ जा इआनका अनुसार यो अभियान भ्रष्टाचार नियन्त्रणमा मात्र सीमित नभई पार्टी र राज्यसत्तामाथि सीको नियन्त्रण बलियो बनाउने माध्यम पनि बनेको छ।
उनका अनुसार सीले आफ्नो राजनीतिक सुरक्षाबारे कस्तो महसुस गर्छन् भन्ने आधारमा यो अभियानको दायरा थप विस्तार हुन सक्छ। वास्तविक भ्रष्टाचार नियन्त्रणसँगै आफ्नो राजनीतिक अधिकार र प्रभाव कायम राख्नु पनि यसको उद्देश्य हुन सक्ने उनको विश्लेषण छ।
पार्टीले जारी गरेको वक्तव्यमा संगठनभित्र देखिएका कमजोरी र अनुशासन उल्लङ्घनका घटनालाई गम्भीर रूपमा लिइएको जनाएको छ। आन्तरिक समस्या समाधान गर्न र पार्टी अनुशासन थप कडा बनाउन नेतृत्व प्रतिबद्ध रहेको पनि उल्लेख गरिएको छ।
सीको तेस्रो कार्यकालमा अहिलेसम्म ५१ जना केन्द्रीय तहका पार्टी सदस्य निष्कासनमा परिसकेका छन्। यो उनको पहिलो र दोस्रो कार्यकालको तुलनामा बढी हो। पहिलो कार्यकालमा ३५ जना र दोस्रो कार्यकालमा पाँच जना निष्कासन भएका थिए।
यसैबीच, चीनको भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकायका अनुसार सन् २०२६ को पहिलो नौ महिनामा मात्रै पार्टी संरचनाभित्रका ६ लाख ८० हजार जनालाई विभिन्न अनुशासनहीन गतिविधिमा संलग्न भएको भन्दै कारबाही गरिएको छ।
सीको १४ वर्षे शासनकालमा पहिलोपटक पार्टीको पूर्ण बैठकमा सहभागी हुने केन्द्रीय समिति सदस्यको संख्या ३०० भन्दा तल झरेको छ। सन् २०२२ मा वर्तमान केन्द्रीय समितिको कार्यकाल सुरु हुँदा यसमा ३७० भन्दा बढी सदस्य थिए।
विश्लेषकहरूका अनुसार सीका लागि भ्रष्टाचारको अर्थ आर्थिक अनियमितता वा घुसखोरीमा मात्र सीमित छैन। पार्टीको विचारधाराप्रति प्रतिबद्ध नहुनु र नेतृत्वको निर्देशन अवज्ञा गर्नुलाई पनि उनले अनुशासनहीनताका रूपमा लिने गरेका छन्।
यसै वर्ष जनवरीमा सीले बाहिरबाट पार्टीप्रति वफादार देखिए पनि भित्रभित्रै नेतृत्वको आदेश उल्लङ्घन गर्ने अधिकारीहरूप्रति सचेत रहन निर्देशन दिएका थिए। उनले यस्ता व्यक्तिलाई ‘दुईमुखे अधिकारी’ को संज्ञा दिएका थिए।
उच्च तहका नेतासमेत कारबाहीमा
पार्टीबाट निष्कासन गरिएका प्रभावशाली व्यक्तिहरूमध्ये सिन्जियाङका पूर्व पार्टी प्रमुख मा सिङरुई, पूर्व वरिष्ठ सैन्य जनरल झाङ युस्या र लिउ झेनली प्रमुख छन्।
उनीहरूमाथि पार्टीको अनुशासन र नियम गम्भीर रूपमा उल्लङ्घन गरेको आरोप लगाइएको छ। चीनको राजनीतिक सन्दर्भमा यस्तो आधिकारिक भाषालाई प्रायः भ्रष्टाचार तथा अन्य गम्भीर अनुशासनहीन गतिविधिसँग जोडेर बुझ्ने गरिन्छ।
विशेषगरी सेनाका उच्च अधिकारीहरूमाथि भएको कारबाहीलाई अर्थपूर्ण रूपमा हेरिएको छ। झाङ युस्या चीनको केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष थिए। उक्त आयोगले चिनियाँ सेनाको सञ्चालन तथा नियन्त्रण गर्छ।
एसिया सोसाइटी पोलिसी इन्स्टिच्युटका अनुसन्धानकर्ता निल थोमस, लोबसाङ छिरिङ र शेङयु वाङका अनुसार चिनियाँ सेनाभित्र भइरहेको पछिल्लो कारबाही असाधारण प्रकृतिको छ। यसले सैनिक नेतृत्वको स्थायित्व र युद्धका लागि सेनाको तयारी क्षमतामाथि प्रश्न उठाएको उनीहरूको विश्लेषण छ।
अर्कोतर्फ, लामो समयदेखि सार्वजनिक रूपमा नदेखिएका चीनका पूर्व वरिष्ठ कूटनीतिज्ञ लिउ जियानछाओ पनि कारबाहीमा परेका व्यक्तिहरूको सूचीमा रहेको बताइएको छ। उनी सन् २०२५ जुलाईदेखि सार्वजनिक कार्यक्रममा देखिएका थिएनन्।
अनुसन्धानकर्ता चोङका अनुसार सीले आफैँ अवसर दिएर महत्त्वपूर्ण जिम्मेवारीमा पुर्याएका व्यक्तिहरूसमेत कारबाहीमा पर्नुले पार्टीभित्र उनको प्रभाव र नियन्त्रणको अवस्थालाई देखाउँछ।
सन् २०२७ को महाधिवेशनलाई केन्द्रमा राखेर अनुशासन कडा
विश्लेषकहरूले आगामी सन् २०२७ मा हुने चिनियाँ कम्युनिस्ट पार्टीको २१औँ महाधिवेशनलाई पनि पछिल्लो कारबाहीसँग जोडेर हेरेका छन्। उक्त महाधिवेशनले पार्टीको आगामी नेतृत्व चयन गर्ने भएकाले अहिलेको अनुशासन अभियानलाई राजनीतिक रूपमा महत्त्वपूर्ण मानिएको छ।
धेरै विश्लेषकले सी चिनफिङ चौथो कार्यकालका लागि पनि चीनको सर्वोच्च नेतृत्वमा रहने सम्भावना औँल्याएका छन्। उनी त्यसपछि पनि सत्तामा रहन सक्ने आकलनसमेत गरिएको छ।
चीनका संस्थापक नेता माओत्से तुङपछि सीले सबैभन्दा लामो समयसम्म देशको सर्वोच्च नेतृत्व सम्हाल्ने नेताका रूपमा आफ्नो स्थान बनाएका छन्।
अनुसन्धानकर्ता निल थोमसका अनुसार केन्द्रीय समितिका धेरै सदस्य हटाइएपछि सीले अब नयाँ पुस्ताका सम्भावित नेतृत्वकर्तालाई नजिकबाट निगरानी गर्न सक्नेछन्। आगामी नेतृत्वमा आउन सक्ने व्यक्तिहरू तुलनात्मक रूपमा युवा, प्राविधिक तथा व्यवस्थापकीय ज्ञान भएका र सीको राजनीतिक सञ्जालसँग सम्बन्धित हुन सक्ने उनको भनाइ छ।
उनका अनुसार प्रान्तीय तहमा कार्यरत नेताहरू पनि भविष्यको नेतृत्वका सम्भावित दाबेदार हुन सक्छन्। तर सन् २०२७ को महाधिवेशनमा कसले महत्त्वपूर्ण जिम्मेवारी पाउने भन्ने निर्णयमा सीको प्रभाव निर्णायक हुन सक्ने विश्लेषकहरूको बुझाइ छ।
चोङका अनुसार सीको प्रमुख लक्ष्य पार्टीभित्रको सम्पूर्ण शक्ति आफ्नै नियन्त्रणमा केन्द्रित गर्नु हो। बैठकपछि सार्वजनिक गरिएको वक्तव्यले पनि चिनियाँ कम्युनिस्ट पार्टी र राज्यको नेतृत्वमा सीकै भूमिका केन्द्रमा रहने चाहना प्रतिबिम्बित गरेको उनको विश्लेषण छ।
यद्यपि, लामो समयसम्म राज्यको सम्पूर्ण शक्ति एउटै व्यक्तिमा केन्द्रित हुँदा भविष्यमा गम्भीर राजनीतिक तथा संस्थागत समस्या उत्पन्न हुन सक्ने चेतावनी पनि उनले दिएका छन्।
