काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थुनामा रहेका व्यवसायी दीपक भट्टको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा दर्ता गरिएको बन्दीप्रत्यक्षीकरणको निवेदन आजको पेसी सूचीमा पहिलो स्थानमा परेको छ।
न्यायाधीश सारङ्गा सुवेदी र शान्तिसिंह थापा सम्मिलित इजलासको ‘क’ मा उक्त मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको हो। भट्टको तर्फबाट उनका बुबा चतुर्भुज भट्टले असोज ७ गते सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए।
निवेदन परेको भोलिपल्ट न्यायाधीश मेघराज पोखरेलको इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो। उक्त आदेशमा भट्टलाई थुनामा राख्नुको औचित्य र बन्दीप्रत्यक्षीकरणको रिट जारी गर्नुपर्ने वा नपर्ने आधार स्पष्ट पार्दै आदेश प्राप्त भएको मितिले बाटोको म्यादबाहेक तीन दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न भनिएको थियो।
धितोपत्र कारोबारसम्बन्धी प्रकरणमा भट्ट गत चैत १९ गते पक्राउ परेका थिए। उनी प्रहरी हिरासतमा रहेका बेला उनकी श्रीमती आयुष्मा नेपालले वैशाख १८ गते रिहाइको मागसहित बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन्।
उक्त निवेदन सोही दिन सुनुवाइका लागि पेसीमा चढे पनि ‘हेर्न नमिल्ने’ कारण कुनै आदेश हुन सकेन। तत्कालीन कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको उक्त मुद्दा वैशाख २१ गते पुनः पेसीमा राखिएको थियो। तर, दोस्रो पटक पनि ‘हेर्न नमिल्ने’ भन्दै सुनुवाइ हुन सकेन।
त्यसपछि श्रीमतीले दायर गरेको निवेदनमा सुनुवाइ अघि बढ्न नसकेपछि भट्टका बुबाले पुनः बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गराएका हुन्।
