सम्बन्धित जलाधार तथा सहायक नदी क्षेत्रमा भइरहेको वर्षा र थप वर्षा हुन सक्ने पूर्वानुमानका कारण बाढीको जोखिम बढेको महाशाखाले जनाएको हो।
महाशाखाका अनुसार शुक्रबार नारायणी, कोशी तथा तिनका सहायक नदीहरूका साथै बागमती, कमला र कन्काई नदी जलाधार क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुन सक्नेछ। यसका कारण ती नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने अनुमान गरिएको छ।
यद्यपि महाकाली, कर्णाली, पश्चिम राप्ती र बबई नदीमा भने जलसतह सामान्य रूपमा मात्र बढ्ने पूर्वानुमान छ।
शनिबार पनि कोशी, बागमती, कमला र कन्काई जलाधार क्षेत्रमा हल्कादेखि मध्यम वर्षा जारी रहने सम्भावना छ। पछिल्ला तीन दिनदेखिको वर्षाका कारण नदीहरूमा जलसतह उच्च बिन्दुमा पुग्न सक्ने महाशाखाले जनाएको छ। तर प्रमुख नदीहरूमा सतर्कता तह पार हुने सम्भावना भने कम रहेको उल्लेख गरिएको छ।
त्यसैगरी, आइतबार कोशी, बागमती र नारायणी जलाधारका केही स्थानमा हल्का वर्षा हुने अनुमान छ। यस दिन समग्र बाढी जोखिम न्यून रहने देखिएको छ। आगामी कात्तिक १६ र १७ गतेसम्म देशका प्रमुख नदीहरूको जलसतह क्रमशः सामान्य अवस्थामा फर्किने प्रक्षेपण गरिएको छ।
महाशाखाले वर्षाको मात्रा र नदीको बहावमा आउने परिवर्तनअनुसार जोखिमको अवस्था पनि फरक पर्न सक्ने जनाएको छ। विशेषगरी कोशी र नारायणी जलाधारका उच्च हिमाली क्षेत्रमा हिमपात तथा हिमपहिरोको जोखिम रहेकाले त्यहाँका बासिन्दालाई थप सतर्कता अपनाउन आग्रह गरिएको छ।
शुक्रबार र शनिबार नारायणी, बागमती, कमला, कन्काई र कोशी जलाधारका पहाडी तथा चुरे क्षेत्रमा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेको छ। त्यस्तै, नदी आसपासका होचा तथा तटीय भूभागमा डुबानको जोखिमसमेत रहेकाले स्थानीय बासिन्दालाई सचेत रहन महाशाखाले अनुरोध गरेको छ।
हाल देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा हल्का वर्षा भइरहेको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि वर्षा भइरहेको छ।
मौसम पूर्वानुमानअनुसार भोलि अपराह्नपछि चक्रवातको प्रभाव क्रमशः कमजोर हुँदै जाने अपेक्षा गरिएको छ।
