काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महासभाले नेपाल र बङ्गलादेशलाई अतिकम विकसित मुलुक (एलडिसी) को सूचीबाट स्तरोन्नति गर्ने प्रक्रियाअन्तर्गत तयारीका लागि थप समय उपलब्ध गराउने निर्णय गरेको छ। महासभाले दुवै देशको तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म लम्ब्याउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।
संयुक्त राष्ट्रसङ्घको बिहीबार बसेको ८१औँ महासभा बैठकले उक्त प्रस्ताव अनुमोदन गरेको न्युयोर्कस्थित नेपाली स्थायी नियोगले जनाएको छ।
निर्णयसँगै नेपालले एलडिसी सूचीबाट बाहिरिनुअघि आवश्यक आर्थिक, सामाजिक तथा संस्थागत सुधारका कामलाई थप व्यवस्थित रूपमा अघि बढाउने अवसर पाएको छ।
थपिएको समयलाई उत्पादन क्षमता विस्तार, सरकारी तथा संस्थागत संरचनाको सुदृढीकरण र अर्थतन्त्रको रूपान्तरणमा उपयोग गर्ने नेपालको प्रतिबद्धता रहेको छ।
महासभाको यो निर्णयले नेपाललाई अतिकम विकसित मुलुकको सूचीबाट सहज, दिगो र पुनःपछाडि फर्कनु नपर्ने गरी स्तरोन्नति हुन आवश्यक तयारी पूरा गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
