काठमाडौं, १३ कात्तिक । काठमाडौंका विभिन्न क्षेत्रमा भूमिगत विद्युत् लाइन विस्तारको काम अघि बढाइने भएपछि नेपाल विद्युत् प्राधिकरणले आठ दिनसम्म चरणबद्ध रूपमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ ।
प्राधिकरणको कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न फिडरमा विस्तार कार्य गर्नुपर्ने भएकाले १३ देखि २० कात्तिकसम्म सम्बन्धित क्षेत्रमा बिहान १०:३० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने जनाइएको छ ।
प्राधिकरणले सार्वजनिक गरेको कार्यतालिकाअनुसार १३ कात्तिकमा बलम्बु, थानकोट तथा मातातीर्थ फिडरअन्तर्गत हाइभिजन कोलोनी क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरिएको छ ।
त्यस्तै, १४ कात्तिकमा सीतापाइला फिडरअन्तर्गत कलंकी रिङरोडदेखि स्युचाटार सबस्टेसनसम्म र १५ कात्तिकमा कलंकी, थानकोट तथा रोपवे फिडरअन्तर्गत कलंकी चोकदेखि ढुंगेअड्डासम्म विद्युत् सेवा बन्द हुनेछ ।
यसैगरी, १६ कात्तिकमा बाफल फिडरअन्तर्गत कलंकी रिङरोडदेखि स्युचाटार सबस्टेसनसम्म तथा १७ कात्तिकमा शंखमूल फिडरअन्तर्गत युएन पार्कदेखि बिजुलीबजारसम्म विद्युत् कटौती गरिनेछ ।
प्राधिकरणका अनुसार १८ र २० कात्तिकमा सतुंगल फिडरअन्तर्गत धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्रमा र १९ कात्तिकमा स्युचाटार एसएस फिडरअन्तर्गत हाजमा पुल क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ ।
मौसम प्रतिकूल भएमा निर्धारित कार्यतालिका परिवर्तन वा रद्द हुन सक्ने प्राधिकरणले स्पष्ट पारेको छ । विद्युत् लाइन विस्तारका लागि आपूर्ति बन्द गर्नुपर्ने भएकाले प्रभावित क्षेत्रका उपभोक्तालाई आवश्यक तयारी गर्न पनि आग्रह गरिएको छ ।
