काठमाडौं । नेकपा एमालेले आगामी मंसिर २ र ३ गते आयोजना गर्न लागेको राष्ट्रिय भेलाको प्रचारप्रसार व्यवस्थापन गर्न नौ सदस्यीय समिति गठन गरेको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा प्रचार अभियानको योजना बनाउन बसेको बैठकले निरज आचार्यको संयोजकत्वमा समिति बनाएको हो । एमाले प्रचार विभाग प्रमुखसमेत रहेका आचार्यले भेलालाई लक्षित गरी विभिन्न प्रचारात्मक गतिविधि सञ्चालन गर्न समिति गठन गरिएको जानकारी दिए ।
समितिमा आचार्यसहित श्रीधर आचार्य, उजिर मगर, गणेश बस्नेत, विश्वमणि सुवेदी, गणेश पाण्डे, चेतन अधिकारी, हिरामान लामा र निमा काफ्ले सदस्य रहेका छन् । समितिको बैठक छिट्टै बस्ने संयोजक आचार्यले बताए ।
बैठकले राष्ट्रिय भेलाका सन्दर्भमा पार्टीका विभिन्न नेतासँग अन्तर्वार्ता तथा प्रचारात्मक संवाद सञ्चालन गर्ने जिम्मेवारी प्रेस चौतारी नेपाललाई दिने निर्णयसमेत गरेको छ ।
त्यस्तै, एमाले नेतृत्वमा रहेका स्थानीय तहले गरेका प्रमुख काम र उपलब्धिलाई प्रचारप्रसारमा समेट्ने तयारी गरिएको छ । यसका लागि सम्बन्धित स्थानीय तहसँग कामको विवरण माग गर्ने निर्णय भएको आचार्यले जानकारी दिए ।
