नेपालका थप ६ चुचुरालाई छुट्टै ८ हजार मिटर अग्ला हिमालको मान्यता दिलाउने पहल
काठमाडौं । नेपालले आठ हजार मिटरभन्दा बढी उचाइ भएका थप ६ वटा चुचुरालाई छुट्टाछुट्टै हिमालका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिन प्रस्ताव अघि सारेको छ । यो प्रस्ताव स्वीकृत भए विश्वमा मान्यता प्राप्त आठ हजारी हिमालको सङ्ख्या १४ बाट बढेर २० पुग्नेछ भने नेपालमा रहेका यस्ता हिमालको सङ्ख्या आठबाट १४ हुनेछ ।
काठमाडौंमा भइरहेको अन्तर्राष्ट्रिय पर्वतारोहण महासङ्घ (यूआईएए) को साधारणसभाका क्रममा नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का अध्यक्ष फुर गेल्जे शेर्पाले ती चुचुराको भौगोलिक अवस्था, वैज्ञानिक आधार र पर्वतारोहणका विशेषताका आधारमा छुट्टै पहिचान दिनुपर्ने प्रस्ताव राखेका हुन् ।
हाल विश्वमा आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिइएको छ । तीमध्ये सगरमाथा, कञ्चनजङ्घा, ल्होत्से, मकालु, चो ओयु, धौलागिरि प्रथम, मनास्लु र अन्नपूर्ण प्रथम गरी आठवटा हिमाल नेपालमा वा नेपालको सीमाक्षेत्रमा पर्छन् ।
नेपालले छुट्टै हिमालको मान्यता दिन प्रस्ताव गरेका छवटा चुचुरामध्ये कञ्चनजङ्घा हिमशृङ्खलाका कञ्चनजङ्घा साउथ, कञ्चनजङ्घा वेस्ट, कञ्चनजङ्घा सेन्ट्रल र यालुङ खाङ रहेका छन् । त्यस्तै, सगरमाथा–ल्होत्से क्षेत्रमा पर्ने ल्होत्से मिडल र ल्होत्से शारलाई पनि छुट्टै हिमालका रूपमा मान्यता दिन माग गरिएको छ ।
यी चुचुरामा नेपाल सरकारले यसअघि नै आरोहण अनुमति दिँदै आएको छ । आरोहीहरूले सफल आरोहणपछि प्रमाणपत्रसमेत प्राप्त गरिसकेका छन् । तर, अन्तर्राष्ट्रिय स्तरमा भने तिनलाई अलग आठ हजारी हिमालका रूपमा औपचारिक मान्यता दिइएको छैन ।
अध्यक्ष शेर्पाका अनुसार प्रस्तावित सबै चुचुराको आफ्नै नाम, भौगोलिक बनावट र शिखरसम्म पुग्ने छुट्टाछुट्टै आरोहण मार्ग छन् । स्थानीय समुदायले समेत तिनलाई अलग पहिचान भएका चुचुराका रूपमा चिन्ने गरेका छन् ।
एउटा चुचुरोको आरोहणले अर्को चुचुरोको आरोहणलाई प्रतिनिधित्व नगर्ने उल्लेख गर्दै उनले प्रत्येक शिखरलाई छुट्टै आरोहण लक्ष्यका रूपमा मूल्याङ्कन गर्नुपर्ने बताए । आठ हजार मिटरभन्दा माथिका हिमाल चढ्न उच्च शारीरिक क्षमता, प्राविधिक ज्ञान, अनुभव र विशेष तयारी आवश्यक पर्ने भएकाले प्रत्येक अलग शिखरको आरोहणलाई विशिष्ट उपलब्धिका रूपमा लिनुपर्ने उनको तर्क छ ।
यो विषय नेपाल पर्वतारोहण सङ्घमा लामो समयदेखि उठ्दै आए पनि ठोस निष्कर्षमा पुग्न नसकेको शेर्पाले बताए । प्रस्तावलाई वैज्ञानिक तथा प्राविधिक आधारसहित अघि बढाउन विज्ञहरूको टोलीसमेत गठन गरिएको छ । मधुसूदन अधिकारीको नेतृत्वमा पाँच सदस्यीय टोलीले छुट्टाछुट्टै मान्यता दिनुपर्ने आधार र प्रमाणसहित विस्तृत प्रस्तुति तयार पार्नेछ ।
शेर्पाले मान्यता प्राप्त हिमालको सङ्ख्या बढाउनु मात्रै आफ्नो उद्देश्य नभएको स्पष्ट पारे । उनका अनुसार प्रस्तावित चुचुराको स्थानीय नाम, भौगोलिक विशेषता, छुट्टै पहिचान र आरोहण मार्गलाई अन्तर्राष्ट्रिय स्तरमा निष्पक्ष मूल्याङ्कन गराउनु मुख्य लक्ष्य हो ।
कुनै चुचुरोलाई स्वतन्त्र हिमालको मान्यता दिने विषयमा अन्तर्राष्ट्रिय सहमति आवश्यक पर्ने भएकाले यसका लागि स्पष्ट वैज्ञानिक मापदण्ड विकास गर्न नेपालले अग्रसरता लिनुपर्ने उनले बताए ।
एनएमएको आयोजनामा भइरहेको यूआईएएको साधारणसभामा पाँच महादेशका ४५ देशबाट ९५ जना प्रतिनिधि सहभागी छन् । नेपालमा यसअघि सन् १९८२ र २०११ मा महासङ्घको साधारणसभा आयोजना भएको थियो । यसपटकको कार्यक्रम नेपालमा तेस्रो हो ।
सन् १९८२ मा काठमाडौंमा भएको साधारणसभाले पर्वतीय वातावरण संरक्षण, प्राकृतिक स्रोतको सुरक्षा तथा स्थानीय समुदायको सांस्कृतिक पहिचानको सम्मानमा जोड दिँदै काठमाडौं घोषणापत्र जारी गरेको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा यूआईएएका अध्यक्ष पिटर मुइरले नेपालमा पछिल्लो समय भएका प्राकृतिक विपद्ले जलवायु परिवर्तनको जोखिमलाई थप उजागर गरेको बताए । उनले पर्वतीय क्षेत्रका समुदायप्रति ऐक्यबद्धता जनाउँदै पर्वतारोहणमा युवाको सहभागिता बढाउनुपर्नेमा जोड दिए ।
साधारणसभाअघि अक्टोबर २७ र २८ मा काठमाडौंमा तेस्रो यूआईएए पर्वतीय सुरक्षा गोष्ठी पनि आयोजना गरिएको थियो । गोष्ठीमा विभिन्न देशका ६० भन्दा बढी पर्वतारोही, चिकित्सक, उद्धारकर्मी, प्यारामेडिक्स, बिमा प्रतिनिधि तथा विषयविज्ञ सहभागी भएका थिए ।
कार्यक्रममा सहभागीहरूले नुवाकोटको ककनीस्थित स्काउट परिसरमा व्यावहारिक उद्धार अभ्यास र तालिमसमेत लिएका थिए ।
