एजेन्सी । विश्वकै ठूलो क्रिप्टोकरेन्सी चोरीमध्ये एक मानिएको बाइनान्स ह्याकिङ घटनामा उत्तर कोरियाली ह्याकर समूहको संलग्नता रहेको अमेरिकी ब्लकचेन विश्लेषण कम्पनी टीआरएम ल्याब्सले दाबी गरेको छ। कम्पनीका अनुसार बाइनान्सका विभिन्न डिजिटल वालेटबाट करिब ६ अर्ब ३६ करोड अमेरिकी डलर बराबरको क्रिप्टो सम्पत्ति चोरी भएको हो।
टीआरएम ल्याब्सले सार्वजनिक गरेको प्रतिवेदनमा उत्तर कोरियासँग सम्बन्धित दक्ष ह्याकिङ समूह ‘ट्रेडर ट्रेटर’ले उक्त आक्रमण गरेको उल्लेख छ। ह्याकरहरूले १० वटा फरक ब्लकचेनमा रहेका बाइनान्सका वालेटबाट रकम स्थानान्तरण गरेका थिए। चोरी भएको अधिकांश रकम २० मिनेटभित्रै सारिएको प्रतिवेदनमा जनाइएको छ।
अफ–चेन र अन–चेन प्रमाणको विश्लेषण गर्दा यस घटनामा ट्रेडर ट्रेटर समूहकै संलग्नता रहेको निष्कर्षमा पुगेको टीआरएम ल्याब्सले जनाएको छ।
यसअघि सन् २०२५ मा बाइबिट क्रिप्टोकरेन्सी एक्सचेन्जबाट भएको १ अर्ब ५० करोड डलर बराबरको चोरीलाई ठूलो घटना मानिएको थियो। बाइनान्सको पछिल्लो घटनाले उक्त रेकर्डसमेत उछिनेको प्रतिवेदनमा उल्लेख छ।
बाइनान्सले प्रारम्भिक अनुसन्धानका क्रममा एक डेभअप्स इन्जिनियरको ल्यापटप ह्याक भएपछि आक्रमणकारीले आफ्नो प्रणालीमा अनधिकृत पहुँच बनाएको जनाएको छ। यद्यपि, कम्पनीले डिजिटल वालेटका प्राइभेट की भने चुहावट नभएको दाबी गरेको छ।
चोरी भएको रकममध्ये करिब ३ अर्ब डलर बराबरको सम्पत्ति रोक्का गरिएको बाइनान्सले जनाएको छ। ग्राहकलाई हुन सक्ने आर्थिक क्षति कम्पनीको आपतकालीन कोष र आफ्नै स्रोतबाट पूर्ति गर्ने प्रतिबद्धता पनि उसले व्यक्त गरेको छ। घटनाबारे सुरक्षा निकायसँग सहकार्य गरेर अनुसन्धान भइरहेको कम्पनीको भनाइ छ।
टीआरएम ल्याब्सका अनुसार आक्रमणकारीहरूले इथेरियम ब्लकचेनमा ‘ईआईपी–७७०२’ कोड प्रयोग गरी पूर्वमै डिजिटल हस्ताक्षर जुटाएका थिए। त्यसपछि बाइनान्सको ‘हट वालेट’ आफ्नो नियन्त्रणमा लिएर रकम स्थानान्तरण गरिएको थियो। सोही अवधिमा अन्य नौवटा ब्लकचेनबाट पनि सामान्य हस्ताक्षरमा आधारित कारोबारमार्फत सम्पत्ति ह्याकरहरूको खातामा सारिएको प्रतिवेदनमा उल्लेख छ।
घटना सार्वजनिक हुनासाथ टेथर, सर्कल, रिपललगायतका संस्थाले करिब २ अर्ब ७० करोड डलर बराबरको क्रिप्टो सम्पत्ति रोक्का गरेका थिए। तर, रोक्का प्रक्रिया अघि बढ्नुअघि नै ह्याकरहरूले तीमध्ये केही सम्पत्ति यूएसडीटीबाट इथेरियम र बिटक्वाइनमा रूपान्तरण गरिसकेको बताइएको छ।
प्रतिवेदनअनुसार हाल ह्याकरहरूको नियन्त्रणमा रोक्का गर्न कठिन हुने गरी ४ लाख २० हजारभन्दा बढी इथर र १८ हजार २७० बिटक्वाइन पुगेको छ।
टीआरएम ल्याब्सले यस घटनामा अपनाइएको कार्यशैली उत्तर कोरियाली ह्याकर समूहले यसअघि गरेका ठूला क्रिप्टो चोरीसँग मिल्दोजुल्दो रहेको जनाएको छ। बाइबिट ह्याक र अप्रिल २०२६ मा भएको केल्पडिएओ ह्याकमा पनि यस्तै रणनीति प्रयोग गरिएको प्रतिवेदनमा उल्लेख छ।
आक्रमण हुनुभन्दा धेरै अघिदेखि तयारी गर्ने, टोर्नाडो क्यासमार्फत रकम जुटाउने, अग्रिम रूपमा डिजिटल हस्ताक्षर संकलन गर्ने, छोटो समयमै ठूलो रकम स्थानान्तरण गर्ने र त्यसपछि विभिन्न प्लेटफर्म प्रयोग गरी सम्पत्ति लुकाउने शैली उत्तर कोरियाली ह्याकिङ समूहसँग जोडिँदै आएको टीआरएम ल्याब्सको विश्लेषण छ।
