शुक्रबार बसेको फूलकोर्ट बैठकमा सापकोटाले प्रधानन्यायाधीश डा. मनोज शर्माको नाम उल्लेख गरेको तथा न्यायाधीश हरि फुयालले उनलाई भेटेको विषयमा न्यायाधीशहरूले जिज्ञासा राखेका थिए।
बैठकमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानन्यायाधीश शर्मा र न्यायाधीश फुयालले आ–आफ्नो धारणा राखेका थिए।
यस विषयको विवरण सार्वजनिक भइसकेको अवस्थामा त्यसबारे थप अध्ययन गर्न न्यायपालिकाभित्रै छुट्टै समिति गठन गर्नुपर्ने सुझावसमेत बैठकमा आएको थियो।
तर सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल विदेश भ्रमणमा रहेकी र न्यायाधीश अब्दुल अजीज मुसलमान बिदामा रहेकाले तत्काल विस्तृत छलफल हुन सकेन।
त्यसैले सबै न्यायाधीशको उपस्थितिमा सोमबार पुनः फूलकोर्ट बैठक बोलाएर यस विषयमा थप छलफल गर्ने सहमति भएको एक न्यायाधीशले जानकारी दिए।
उनले सोमबार सबै न्यायाधीश उपस्थित भएपछि बैठक बसेर प्रकरणबारे विस्तृत छलफल गरिने बताए।
