नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारको पछिल्लो कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
बिहीवार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रधानमन्त्रीले संसदलाई जानकारी नदिई विदेश भ्रमण गरेको, बाढी–पहिरो पीडितको राहतमा ढिलाइ गरेको र सुशासनको नाममा केवल स्टन्टबाजी गरेको भन्दै सरकारको आलोचना गरेका छन्। प्रमुख सचेतक दुलालले प्रधानमन्त्रीले राष्ट्रसंघको महासभामा उठाएका एजेण्डाहरू सकारात्मक भए पनि भ्रमणको पूर्व र उत्तरार्धमा संसदलाई जानकारी नदिएर व्यवस्थापिकाको अपमान गरेको आरोप लगाएका छन्।
बाढी–पहिरोका कारण ज्यान गुमाएका र बेपत्ता नागरिकहरूको अवस्थाप्रति सरकार उदासीन देखिएको उनले बताएका छन्। उनले बेपत्ता भएकाहरूलाई तत्काल मृतकसरहको कानूनी हैसियत प्रदान गर्न र पीडितहरूलाई राहत तथा पुनर्स्थापनामा गम्भीर बन्न सरकारसँग माग गरेका छन्। राहत सामग्री गोदाममा थन्किएको र रकम खर्च हुन नसकेको भन्दै उनले प्रशासनिक ढिलासुस्तीप्रति रोष प्रकट गरेका छन्।
भ्रष्टाचार नियन्त्रणको विषयमा उनले अघिल्लो सरकारको पालामा सुशासनको महाअभियान सुरु गरिएको र ठूला फाइल खोलिएकै कारण सरकार ढालिएको जिकिर गरेका छन्। सहकारी ठगी प्रकरणमा फरार रहेका जिबी राईलाई पक्राउ गर्न पनि उनले सरकारलाई दबाब दिएका छन्।
उनले भनेका छन्, ‘यदि सरकार साँच्चै भ्रष्टाचारीलाई कारबाही गर्न चाहन्छ भने बलिया आधारसहितका फाइलहरू खोलोस्, न कि स्टन्ट देखाएर जनतालाई भ्रममा राखोस्।’
उनले पछिल्लो समय जनताले महँगी, बेरोजगारी र आधारभूत सेवामा भोगेका समस्याबारे सरकार मौन रहेको आरोप लगाएका छन्। रसुवा र कोरोला लगायतका नाकाहरू बन्द हुँदा चाडपर्वको समयमा बजारमा सामान महँगिएको उल्लेख गर्दै उनले उच्चस्तरीय कूटनीतिक पहल गरी तत्काल नाका खुलाउन माग गरेका छन्।
उनले सरकारले सञ्चार माध्यमलाई नियन्त्रणमा राख्न खोजेको र सांसदहरूको स्तर निर्धारण गर्ने जस्ता कार्यले प्रधानमन्त्रीको साख गिराउने चेतावनीसमेत दिएका छन्।
