संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नेपाल एयरलाइन्स अब बिग्रिने ठाउँ नै छैन, निजी कम्पनी हुन्थ्यो भने लिक्विडेसनमा गइसक्थ्यो– पर्यटनमन्त्रीले नेपाल वायुसेवा निगमको वर्तमान आर्थिक तथा व्यवस्थापकीय अवस्था निकै नाजुक रहेको बताएका छन्।
शुक्रवार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले यदि यो कुनै निजी कम्पनी हुन्थ्यो भने हालसम्म लिक्विडेसन (समापन) मा गइसकेको अवस्था हुने बताए। मन्त्री पौडेलले नेपाल वायुसेवा निगम नाफा कमाउने मात्र संस्था नभई राष्ट्रिय गौरव र ध्वजावाहक भएकाले यसलाई जोगाउन अब कठोर निर्णय लिनुपर्ने बेला आएको बताए।
उनले एयरलाइन्सको विद्यमान समस्या समाधानका लागि सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा जानुपर्ने सरकारको नीति रहेको स्पष्ट पारे। विगतमा कोभिड–१९ को समयमा ब्याजलाई पुँजीकरण गरिएको विषयलाई उनले ‘मिटरब्याज’ सरहको व्यवहार भएको टिप्पणी गरे।
संस्थानको व्यवस्थापकीय कमजोरी औँल्याउँदै मन्त्री पौडेलले जनशक्ति योजना, मार्केटिङ र परिचालन रणनीतिसमेत नरहेको उल्लेख गरे। वाइडबडी जहाजहरूको ओभरहल र मर्मतसम्भारका लागि आवश्यक पर्ने अर्बौं रुपैयाँको बजेट व्यवस्थापन गर्न नसक्नुले एयरलाइन्सको वित्तीय क्षमता कमजोर रहेको स्पष्ट हुने उनले बताए।
उनले भने, ‘नेपाल वायुसेवा निगमको अवस्था अत्यन्त गम्भीर छ। निजी कम्पनी भएको भए यो अवस्थामा लिक्विडेसनमा जाने अवस्था आउन सक्थ्यो। तर यो नाफा कमाउन मात्र स्थापना भएको संस्था होइन, राष्ट्रिय ध्वजावाहकका रूपमा पर्यटन, रोजगारी, निजी क्षेत्र र राष्ट्रिय प्रतिष्ठासँग जोडिएको संस्था हो। त्यसैले निगममा मेजर रिफर्म र पुनर्संरचना आवश्यक छ।
ऋणको भार घटाउने, इक्विटी बढाउने र अत्यधिक ब्याजदर पुनरावलोकन गर्ने विषयमा सरकार र सम्बन्धित निकायले गम्भीर पहल गर्नुपर्छ। साथै जहाज थप्ने, लिजमा लिने र फ्लीट आधुनिकीकरण गर्नुपर्छ। निगममा वित्तीय, मानव संसाधन, मार्केटिङ र अपरेसनल योजना कमजोर छन्।
वाइडबडी जहाजको ओभरहलका लागि आगामी केही महिनामै ठूलो रकम आवश्यक पर्ने भएकाले त्यसको वित्तीय योजना तत्काल बनाउनुपर्छ। यस अवस्थामा सरकारको निर्णय मात्र पर्याप्त हुँदैन। निगमलाई पीपीपी वा निजी क्षेत्रको साझेदारी मोडलमा लैजाने विषयमा समेत व्यापक सार्वजनिक बहस आवश्यक छ। राष्ट्रिय ध्वजावाहकलाई दीर्घकालीन रूपमा सक्षम र आत्मनिर्भर बनाउने गरी छिट्टै ठोस निर्णय लिनुपर्छ।’
पर्यटन प्रवद्र्धन र राष्ट्रिय आत्मविश्वासका लागि एयरलाइन्सको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै मन्त्री पौडेलले सरकार यसको पुनरुत्थानका लागि प्रतिबद्ध रहेको बताए। समितिले अगाडि बढाएको छलफलले राष्ट्रिय ध्वजावाहकलाई जोगाउन ठोस मार्गचित्र कोर्ने विश्वाससमेत उनले व्यक्त गरे।
–न्युज एजेन्सी नेपाल
