संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले संरचनागत सुधार नगरी नेपाल वायुसेवा निगममा थप जहाज भित्र्याउनुको औचित्य नहुने स्पष्ट पारेका छन्।
शुक्रवार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा मन्त्री पौडेलले निगमको वर्तमान प्रशासनिक ढाँचा र व्यवस्थापकीय कमजोरीमा सुधार नआएसम्म जहाज थपेर मात्रै निगमको साख उकास्न नसकिने बताए।
मन्त्री पौडेलले निगम लामो समयदेखि राजनीतिक हस्तक्षेप र गलत व्यवस्थापकीय परिपाटीको सिकार बन्दै आएको स्वीकार गरे। हाल निगममा देखिएको कानुनी जटिलताका कारण महाप्रबन्धक नियुक्तिको प्रक्रिया अवरुद्ध भएको उनले जानकारी दिए।
महाप्रबन्धक नियुक्तिसम्बन्धी विषय अदालतमा विचाराधीन रहेकाले तत्कालका लागि निमित्त वा बोर्डकै कुनै सदस्यलाई जिम्मेवारी दिएर चलाउनुपर्ने बाध्यात्मक अवस्था रहेको उनले बताए।
मन्त्री पौडेलले बोर्डले नियमनकारी र कार्यकारी दुवै भूमिका एकसाथ निर्वाह गर्दा थप समस्या उत्पन्न हुन सक्नेतर्फ सचेत गराए। यद्यपि, आफू निगम सुधारका लागि सकारात्मक राजनीतिक हस्तक्षेपको पक्षमा रहेको उनले बताए।
निगमको कमजोर व्यवस्थापनका कारण एउटा जहाजमा समस्या आउँदा पनि सम्पूर्ण उडान तालिका प्रभावित हुने र यात्रु व्यवस्थापनका लागि ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपर्ने अवस्था रहेको उनले बताए।
उनले भने, ‘नेपाल वायुसेवा निगमको वर्तमान अवस्था लामो समयको राजनीतिक हस्तक्षेप र व्यवस्थापकीय कमजोरीको परिणाम हो। अहिले भने आवश्यक र सकारात्मक सरकारी हस्तक्षेपको आवश्यकता देखिन्छ। महाप्रबन्धक नियुक्तिको प्रक्रियासम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले नयाँ महाप्रबन्धक नियुक्तिमा कानुनी अड्चन छ। यस्तो अवस्थामा निमित्त वा अस्थायी जिम्मेवारी दिनुपर्ने हुन्छ।
बोर्डले नियमनकारी र व्यवस्थापकीय दुवै भूमिका सम्हाल्दा थप समस्या आउन सक्ने जोखिम छ। निगमका सीमित जहाजमध्ये एउटामा समस्या आउँदा उडान पुनःतालिकीकरण र यात्रु व्यवस्थापनमै ठूलो खर्च हुन्छ। त्यसैले जहाज थप्नु मात्र पर्याप्त हुँदैन। संरचनागत सुधार, चुस्त व्यवस्थापन र समयमै सही निर्णय गर्नसक्ने संयन्त्रको विकास पहिलो आवश्यकता हो।
यसका लागि संरचनागत सुधारको प्रस्ताव तयार भइसकेको छ। त्यसलाई कार्यान्वयन गरेपछि समितिमा समेत छलफलका लागि प्रस्तुत गरिनेछ।’
हाल ६ वटा जहाज रहेको निगममा व्यवस्थापकीय दक्षताको कमी र सही समयमा सही निर्णय लिन नसक्ने संयन्त्र मुख्य बाधक रहेको मन्त्री पौडेलले बताए।
निगमको संरचनागत सुधारका लागि आवश्यक कागजात र कार्ययोजना तयार भइरहेको जानकारी दिँदै उनले उक्त सुधारको योजना छिट्टै संसदीय समितिमा पेस गरिने बताए। सुधारको योजना कार्यान्वयनमा ल्याएपछि मात्रै जहाज थपको प्रक्रिया अघि बढाउने उनले प्रतिबद्धता व्यक्त गरे।
