नेकपा (एमाले) की सांसद नीता घतानीले पछिल्लो समय राजनीतिमा पुराना पुस्तालाई अयोग्य करार गर्दै निर्माण गरिएको भाष्यप्रति असन्तुष्टि व्यक्त गरेकी छन् ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा विशेष समय लिएर बोल्दै उनले देशको विकास र लोकतन्त्र स्थापनामा अग्रजहरूको योगदानलाई बिर्सिएर युवा पुस्तालाई उत्तेजित पार्ने काम घातक भएको जिकिर गरेकी हुन् । सांसद घतानीले ३५ वर्षको अवधिमा मुलुकले हासिल गरेका उपलब्धिहरू पञ्चायतकाल र राजतन्त्रविरुद्ध संघर्ष गर्ने नेताहरूको देन भएको उल्लेख गरेकी छन् । उनले वर्तमान सरकार स्टन्ट र भ्रमको खेतीमा मात्र केन्द्रित रहेको आरोप लगाइन् । बजारमा ग्यासको हाहाकार, स्वास्थ्य बीमाको उपेक्षा र बाढीपहिरोको विपद्मा सरकारको उपस्थिति फितलो रहेको भन्दै उनले आलोचना गरेकी छन् ।
उनले भनिन्, ‘३५ प्रतिशत साक्षरतालाई ८० प्रतिशत पुर्याउने, सडक, खानेपानी र स्वास्थ्य पूर्वाधार निर्माण गर्ने तथा नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउने काम तिनै पुराना नेताहरूबाट भएको हो । पुरानालाई गाली गरेर भ्युज र लाइक बटुल्ने प्रवृत्तिले देशलाई फाइदा गर्दैन । चुनावका बेला ठूला गफ हाँक्ने सरकार सत्तामा पुगेपछि नागरिकको समस्यामा मौन छ । बाढीपहिरोका बेला हेलिकोप्टरमा राज्यको ढुकुटी सिध्याउने काम भयो, तर वास्तविक पीडितको उद्धारमा सरकार चुकेको छ ।’
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चुच्चे नक्शा जारी गरी देखाएको राष्ट्रिय अडान र वर्तमान नेतृत्वको राष्ट्रहित प्रतिकूल अभिव्यक्तिबीच उनले तुलना गर्दै सरकारको कार्यक्षमतामाथि प्रश्न उठाएकी छन् । – न्युज एजेन्सी नेपाल
#NitaGhatani #CPNUML #PratinidhiSabha #NepalParliament #NepalPolitics #Governance #NepalNews #UMLNepal
