नेपाली कम्युनिष्ट पार्टीका संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले वर्तमान सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल भएको भन्दै आलोचना गरेका छन् ।
सरकार लोकतन्त्र र संविधानको रक्षा गर्नुको साटो ‘विजयको उन्माद’ मा रमाएको र प्रश्न गर्ने जनतालाई होच्याउने काम गरिरहेको उनको आरोप छ । राष्ट्रिय सभामा बोल्दै नेता सुवेदीले सरकारले सुशासनको नारा दिएपनि व्यवहारमा भने अमानवीय र जनविरोधी काम गरिरहेको जिकिर गरे । उनले बेपत्ता व्यक्तिको खोजीमा रहेकी महिलाप्रति दुर्व्यवहार, अस्पतालको गेटमा सुत्केरी हुनुपर्ने बाध्यता र बालबालिकामाथिको हिंसात्मक घटनाहरूमा सरकार असंवेदनशील बनेको बताएका छन् ।
सुवेदीले प्रधानमन्त्री र सरकारको निर्माण प्रक्रियामाथि नै प्रश्न उठाउँदै भने, ‘तपाईंहरूको पार्टी र सरकार कुनै विचारभन्दा पनि नकारात्मकताको प्रचारबाट जन्मिएको हो । जनताले भोट दिएर विश्वास गरे पनि अहिलेको नेतृत्वले प्रश्न सोध्ने नागरिकलाई झोले वा मूर्खको संज्ञा दिँदै तानाशाहको शैली प्रदर्शन गरिरहेको छ ।’
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बालुवाटार बोलाएर नियन्त्रणमा राखेको भन्दै सरकारले संवैधानिक निकायको मर्यादा मिचेको आरोप लगाए । ३५ वर्षे राजनीतिक परिवर्तनका उपलब्धिहरू ओझेलमा पार्ने प्रयास भएको उल्लेख गर्दै सुवेदीले लोडसेडिङ अन्त्य, सडक सञ्जालको विस्तार र लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासलाई सरकारले बेवास्ता गरेको बताए । – न्युज एजेन्सी नेपाल
#JhakkuPrasadSubedi #NepalCommunistParty #NationalAssemblyNepal #NepalParliament #GovernanceNepal #NepalPolitics #NepalNews
