पूर्वराजदूत दीपककुमार उपाध्यायले नयाँ र पुरानो पुस्ताका नाममा समाजलाई विभाजित गर्दै मुलुकलाई कमजोर बनाउने दिशातर्फ अघि बढिरहेका त छैनौँ भन्ने प्रश्न गरेका छन्।
ललितपुरको पुल्चोकमा आयोजित ‘नागरिक आवाज अभियान’ घोषणा कार्यक्रममा बोल्दै उपाध्यायले नयाँ र पुरानो पुस्ताबीच दोषारोपण गरेर मुलुकको हित हुन नसक्ने बताएका छन्। उनले सरकार आउने–जाने क्रम चलिरहने भए पनि मुलुकको भविष्य कतातर्फ जाने भन्ने प्रश्न महत्वपूर्ण रहेको बताउँदै राज्य सञ्चालनदेखि नागरिक तहसम्म पारदर्शिता आवश्यक रहेको बताए।
उपाध्यायले नागरिकलाई केन्द्रमा राखेर राज्यप्रतिको कर्तव्य, दायित्व र जवाफदेहिताबारे सचेतना अभिवृद्धि गर्न स्थापित पुस्ताले भूमिका खेल्नुपर्ने बताए। नयाँ पुस्तामाझ पुरानो पुस्ताले आफ्नो अनुभव साझा गर्नुपर्ने उद्देश्यले आफू अभियानमा सहभागी भएको उनको भनाइ छ।
नेपालसँगैका मुलुकले आर्थिक तथा सामाजिक विकासमा ठूलो फड्को मारिसकेको उल्लेख गर्दै उनले सरकारले परिणाम दिने गरी काम गर्नुपर्ने बताए।
उपाध्यायले भने, ‘हामीले एकले अर्कोलाई दोषारोपण गरेर मुलुकको हित हुन सक्दैन। हिजोकोले आजकालाई र आजकाले हिजोकालाई गाली गरेर केही हुनेवाला छैन। हाम्रो आफ्नोपनलाई गुमाउँदै द्वन्द्व मात्र अगाडि बढाउने दिशामा उन्मुख त छैनौँ? जसरी हुन्छ देशलाई कमजोर पार्ने, समाजमा विखण्डन ल्याउने बाटोतर्फ जाँदैछौँ कि भन्ने चिन्ता लाग्छ।’
आफ्नो पुस्तासँग अहिलेको जस्तो प्रविधि नभए पनि नेपालको संस्कृति, परम्परा र इतिहासप्रति गर्व गर्नुपर्ने उनले बताए। उनले नेपालको भौगोलिक अवस्था र सभ्यतामा आधारित विकास मोडल अवलम्बन गर्नुपर्नेमा पनि जोड दिए।
