२० असोज, काठमाडौं । नेपालमा खाना पकाउने एलपी ग्यासको आपूर्ति प्रभावित हुँदै उपभोक्ताले समस्या भोगिरहेका बेला ग्यास बिक्रेता महासंघ नेपालले नेपाल आयल निगमको ध्यानाकर्षण गराएको छ।
महासंघले निगमका कार्यकारी निर्देशक नागेन्द्र साहलाई ज्ञापनपत्र बुझाउँदै ग्यास उद्योगहरूले प्रत्यक्ष रूपमा गर्दै आएको खुद्रा बिक्री तत्काल रोक्न र डिलरमार्फत मात्रै उपभोक्तासम्म ग्यास पुर्याउने व्यवस्था गर्न माग गरेको हो।
महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालका अनुसार बजारमा आवश्यकता भन्दा बढी ग्यास सिलिन्डर हुनु आपूर्ति समस्या देखिनुको एउटा प्रमुख कारण हो। तर, यही अवस्थाबीच केही ग्यास उद्योगले २ हजार ५ सयदेखि २ हजार ७ सय रुपैयाँसम्ममा नयाँ सिलिन्डर बिक्री गरिरहेको भन्दै महासंघले असन्तुष्टि जनाएको छ।
उद्योगबाट नयाँ सिलिन्डरको बिक्री भइरहँदा समेत निगम र सरकारले प्रभावकारी कदम नचालेको महासंघको भनाइ छ। यसले ग्यास वितरण प्रणालीप्रति थप प्रश्न उठाएको महासंघले जनाएको छ।
महासंघले बजारमा रहेका अतिरिक्त सिलिन्डरको धरौटी रकम फिर्ता गर्नेभन्दा पनि भविष्यमा ५ किलो, १९ किलो, ५० किलो र ४५० किलो क्षमताका थप सिलिन्डर बजारमा ल्याउने तयारी भइरहेकोप्रति समेत आपत्ति जनाएको छ। यस्तो योजनाले उपभोक्तामाथि थप आर्थिक भार पर्न सक्ने महासंघको धारणा छ।
ग्यास वितरणलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन उद्योगबाट हुने खुद्रा बिक्री अन्त्य गरी अधिकृत डिलरमार्फत मात्र बिक्रीवितरण गर्ने व्यवस्था लागू गर्न महासंघले निगमसँग आग्रह गरेको छ।
त्यसैगरी, ग्यास अभावको वास्तविक कारण पहिचान गरी सम्बन्धित पक्षसँग छलफल गरेर नियमित आपूर्ति सहज बनाउन तथा हाल उपभोक्ताले प्रयोग गर्दै आएको १४.२ किलो क्षमताको ग्यास सिलिन्डरको उचित व्यवस्थापन गर्न पनि महासंघले माग गरेको छ।
