जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–८ स्थित दशरथ तलावमा एक पुरुषको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आज बिहान पोखरीको किनारमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। बिहान करिब ९:४५ बजे घटनाबारे सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीका अनुसार मृतकको उमेर करिब ५० देखि ५५ वर्ष जति रहेको अनुमान गरिएको छ। हालसम्म उनको नाम, थर र स्थायी ठेगाना पहिचान हुन सकेको छैन।
घटनास्थल पुगेको प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवको मुचुल्का उठाएको छ। त्यसपछि शवलाई प्रादेशिक अस्पताल, जनकपुरधाममा पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ।
मृतकको पहिचान तथा घटनाको वास्तविक कारणबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।
