२० असोज, काठमाडौं । गोप्य सूचना चुहाएको आरोपमा निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालमाथि छानबिन गर्न समिति गठन गरिएको छ।
गृह मन्त्रालयका अनुसार सशस्त्र प्रहरी प्रधान कार्यालय, हल्चोकस्थित मानव स्रोत विभागमा कार्यरत एआईजी अन्जनीकुमार पोखरेललाई छानबिनको जिम्मेवारी दिइएको छ। छानबिन समितिमा पोखरेल मात्रै सदस्य रहेका छन्।
गृह मन्त्रालयका स्रोतका अनुसार सशस्त्र प्रहरी नियमावलीमा रहेको सम्बन्धित व्यवस्थाअनुसार छानबिन अघि बढाउन उनलाई जिम्मेवारी दिइएको हो। छानबिनका लागि तीन दिनको समयसीमा तोकिएको छ। तोकिएको अवधिभित्र प्रतिवेदन बुझाएपछि त्यसकै आधारमा दाहालमाथि थप कारबाहीको प्रक्रिया अघि बढाइने बताइएको छ।
दाहालमाथि गोप्य सूचना बाहिर पुर्याएको आरोप लागेको छ। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ परेका बेला उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा भेट्न पुगेको विषय पनि छानबिनको दायरामा रहेको बताइएको छ। झापाका एक बिचौलियासँग उनको सम्बन्ध देखिएको र संवेदनशील सूचना चुहाएको आरोपसमेत उनीमाथि लगाइएको छ।
अवकाशको समय नजिकिँदै गर्दा निलम्बन
निलम्बनमा पर्नुअघि दाहाल सशस्त्र प्रहरी बलको सीमा विभाग प्रमुखका रूपमा कार्यरत थिए। सरकारले पदावधि थप नगरेको अवस्थामा उनी २७ असोजको राति १२ बजेबाट अनिवार्य अवकाशमा जाने अवस्थामा थिए।
सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ६५(ग) अनुसार एआईजीको पदावधि चार वर्षको हुन्छ। दाहाल २८ वैशाख २०७९ मा एआईजी बनेका थिए। उक्त व्यवस्थाअनुसार उनको चारवर्षे पदावधि पूरा भएपछि उनी अनिवार्य अवकाशमा जाने अवस्थामा थिए।
तर सोही दफाको उपनियम (२) ले सशस्त्र प्रहरी महानिरीक्षक (आईजी)को सिफारिसमा नेपाल सरकारले एआईजीको पदावधि चार वर्ष पूरा भएपछि थप एक वर्षसम्म बढाउन सक्ने व्यवस्था गरेको छ।
यसै प्रावधानअनुसार दाहालको पदावधि थप गर्न सशस्त्र प्रहरी मुख्यालयले गृह मन्त्रालयमा सिफारिससमेत पठाएको थियो। तर पदावधि थपसम्बन्धी प्रक्रिया अघि बढिरहेकै समयमा गोप्य सूचना चुहाएको आरोप लागेपछि उनी निलम्बनमा परेका हुन्।
अब एआईजी पोखरेलले बुझाउने छानबिन प्रतिवेदनका आधारमा दाहालमाथिको थप प्रक्रिया अघि बढ्ने गृह मन्त्रालयले जनाएको छ।
