काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको छ।
एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार ११औँ महाधिवेशनपछि स्थायी कमिटीको यो पहिलो बैठक हो। बैठकमा पछिल्लो राजनीतिक परिस्थितिका साथै पार्टीका आगामी कार्यक्रम र गतिविधिबारे छलफल हुने बताइएको छ।
असोज ८ गते सम्पन्न एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको थियो। सोही बैठकबाट स्थायी कमिटी पनि गठन गरिएको थियो।
बिहीबारको स्थायी कमिटी बैठकअघि वरिष्ठ नेता भण्डारीको शपथग्रहण कार्यक्रम राखिएको छ। एमालेका अनुसार अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई शपथ गराएपछि मात्रै स्थायी कमिटी बैठक सुरु हुनेछ।
एमालेको स्थायी कमिटीमा पार्टीका पदाधिकारीबाहेक ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, शिवमाया तुम्वाहाम्फे, लालबाबु पण्डित र थममाया थापा सदस्य रहेका छन्।
