काठमाडौं, २२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि बिहीबार दिउँसो १ बजेदेखि मतदान प्रक्रिया सुरु हुँदैछ।
राजधानी काठमाडौंमा गत आइतबारदेखि जारी महाधिवेशनमा देशभर तथा प्रवासबाट आएका ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्न लागेका हुन्। केन्द्रीय निर्वाचन समितिले सभापतिसहित पदाधिकारी तथा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका नेताहरूको अन्तिम नामावली बुधबार साँझ नै सार्वजनिक गरिसकेको छ।
दिउँसो १ बजेदेखि मतदान सुरु हुने कार्यतालिका रहेकाले अनावश्यक भीडभाड र असुविधाबाट बच्न बिहानैदेखि लाइनमा नबस्न निर्वाचन समितिले प्रतिनिधिहरूलाई अनुरोध गरेको छ। मतदान प्रक्रियालाई व्यवस्थित, छिटो र सहज बनाउन निर्वाचन समितिले प्रदेश तथा प्रतिनिधित्व समूहका आधारमा मतदान केन्द्रहरूको व्यवस्था गरेको छ।
सार्वजनिक गरिएको संशोधित निर्वाचन कार्यतालिकाअनुसार वागमती प्रदेशका प्रतिनिधिहरूका लागि राष्ट्रिय सभा गृहस्थित मतदान केन्द्र ‘क’ तोकिएको छ। यसैगरी, खुलामञ्चमा मतदान केन्द्र ‘ख’ स्थापना गरिएको छ। खुलामञ्चभित्र विभिन्न प्रदेश तथा समूहका आधारमा छुट्टाछुट्टै हलहरूको प्रबन्ध मिलाइएको छ।
जसअनुसार कोशी प्रदेश र तराई–मधेस समूहका प्रतिनिधिहरूले खुलामञ्चमै तोकिएको केन्द्रबाट मतदान गर्नेछन् भने गण्डकी प्रदेशका प्रतिनिधिहरूका लागि ‘हिमाल हल’ र मधेस प्रदेशका प्रतिनिधिहरूका लागि ‘तराई–मधेस हल’ निर्धारण गरिएको छ।
त्यस्तै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाली जनसम्पर्क समिति (प्रवास) तथा विभिन्न भ्रातृ संस्थाका प्रतिनिधिहरूले खुलामञ्चस्थित ‘पहाड हल’ बाट आफ्नो मताधिकार प्रयोग गर्ने निर्वाचन समितिले जनाएको छ।
मतदान स्थलहरूमा सुरक्षा व्यवस्था कडा पारिनुका साथै मतपत्र र अन्य निर्वाचन सामग्रीको आवश्यक प्रबन्ध मिलाइसकिएको छ।
