वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले आवासीय चिकित्सकहरूलाई अस्पताल तथा होस्टल खाली गर्न उर्दी जारी गरेको विषयमा सरकारले माफी मागेको छ।
बिहीवार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित छलफलमा प्रथम वर्षका चिकित्सकहरूलाई १२ घण्टाभित्र होस्टेल र क्वार्टर खाली गरी कलेजको सम्पत्ति बुझाउन निर्देशन दिएको विषयमा सरकारको तर्फबाट शिक्षा तथा खेलकुदमन्त्रीका सल्लाहकार शैलेन्द्र झाले माफी मागेका छन्। उहाँले यस विषयलाई मन्त्रालयले गम्भीर रूपमा लिएको बताउँदै छिट्टै अध्ययनको वातावरण निर्माण गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। २४ दिनदेखि आन्दोलनरत आवासीय चिकित्सकहरूले बिहीवार मन्त्रालय पुगेर आफ्ना मागहरू सम्बोधन गरी काम गर्ने वातावरण निर्माण गर्न माग गरे।
मन्त्री पोखरेलका सल्लाहकार झाले मेडिकल कलेजको उक्त उर्दी आवेगमा जारी गरिएको र त्यसमा व्यक्तिगत ‘इगो’ प्रदर्शन भएको देखिएको दाबी समेत गरे। उहाँले मौसमको संवेदनशील अवस्थालाई समेत बेवास्ता गर्दै चिकित्सकहरूलाई होस्टल छोड्न बाध्य बनाउनु अमानवीय र लोकतान्त्रिक शासन व्यवस्थाविपरीत भएको समेत बताए। उहाँले मन्त्री पोखरेलले समेत यस विषयलाई गम्भीरतापूर्वक लिएर काम गरिरहेको जानकारी समेत दिए।
उहाँले भने, ‘तपाईंहरूलाई १२ घण्टाभित्रमा होस्टल छोडिदिनु भनेर नोटिस आयो, जुन नोटिस आवेगमा आएर लेखिएको पनि देखिन्छ। एउटा इगो डेमोन्स्ट्रेट गरेको पनि देखिन्छ। र त्यो अमानवीय पनि हो। मौसमको हिसाबले समेत जटिल र संवेदनशील विषय भएको कारणले भनेर हामीले सूचना समेत जारी गरेका थियौँ। त्यो समयमा त्यहाँ धेरै क्रियाकलाप भएको छ। मलाई मिति चाहिँ याद छैन। हामी यो सबैप्रति एकदमै डिसअपोइन्टेड छौँ। जतिसुकै गल्ती गरेको भए पनि होस्टेल छोड्न बाध्य बनाउनु उचित होइन। यो लोकतान्त्रिक शासन व्यवस्थामा कुनै पनि हिसाबले उपयुक्त हुँदैन। त्यसप्रति हामी एकदमै चिन्तित छौँ। यसको लागि हामी राज्यको तर्फबाट एपोलोजिज पनि भन्न चाहान्छौँ। यो विषयमा मन्त्रीज्यूलाई जानकारी दिएर निरन्तर काम पनि गरिरहेका छौँ। उहाँले यो विषयलाई गम्भीर रूपमा लिनुभएको छ।’
आवासीय चिकित्सकहरूले कलेजमा शान्तिपूर्ण र मर्यादित वातावरण निर्माण गरी अध्ययनमा फर्कने अवस्था बनाउन माग गरे। आवासीय चिकित्सक डा. अविश साहले कलेजमा प्रोफेसरको निगरानीमा समेत विद्यार्थीलाई बिरामी तथा केसमा प्रत्यक्ष संलग्न हुन नदिइएको बताए। उहाँले कतिपय आवासीय चिकित्सकलाई तेस्रो वर्षमा प्रवेश गर्दासम्म पनि व्यवहारिक चिकित्सकीय अभ्यासको अवसर नदिइएको बताए। डा. साहले चिकित्सकले पर्याप्त क्लिनिकल एक्सपोजर नपाए कसरी गुणस्तरीय उपचार गर्न पाउँछ ? भन्दै प्रश्न समेत गरे। उहाँले कलेजमा सुरक्षित, मर्यादित र अध्ययनमैत्री वातावरण सुनिश्चित गर्न माग गरे।
उहाँले भने, ‘कलेजमा प्रोफेसर हुनुहुन्छ। तर प्रोफेसरको अन्डरमा विद्यार्थीले कुनै पनि केस छुन पाउँदैन। कतिजनालाई तेस्रो वर्षसम्म पनि केही गर्न दिइएको छैन। यदि कुनै डाक्टरले एक्सपोजर नै पाएको छैन भने उसले के उपचार गर्छ होला त ? अनि त्यहाँ यति धेरै ह्यारेसमेन्ट छ कि त्यसको व्याख्या गर्न नै गाह्रो छ । यहाँसम्म कि मनमा लागेको प्रश्न र जिज्ञासा समेत सोध्न डर लाग्छ। यस्तो डरलाग्दो अवस्थामा हामी कसरी काम गर्न सक्छौँ।’
अर्का आवासीय चिकित्सक अजरुद्धिन अन्सारीले कलेज प्रशासनबाट आफूहरूलाई थर्काउने तथा धम्की दिने गरिएको आरोप लगाए। उहाँले कलेज प्रशासनबाट धेरै बोले छतबाट फालिदिनेसम्मको धम्की आउने गरेको दाबी गर्दै यस्तो वातावरणमा अध्ययन गर्न नसकिने बताए। अन्सारीले कलेजमा विद्यमान वातावरणले चिकित्सकको व्यावसायिक दक्षता र उपचारको गुणस्तरमा समेत असर पार्न सक्ने भन्दै सुरक्षित र मर्यादित वातावरण निर्माण गर्न मन्त्रालयको ध्यानाकर्षण गराए।
उहाँले भने, ‘साथीहरूले सबै समस्या भनिसक्नुभयो, हाम्रो कलेज प्रशासनमा सबै कुरा खराब नै छ। थर्काउने, धम्की दिने भइरहेको छ। धेरै बोले छतबाट फालिदिन्छुसम्मको धम्कीहरू आइरहन्छन्। अब यस्तो वातावरणमा पढ्नको लागि कतिको पोसिबल छ ? हामी यही वातावरणमा त्यहाँ बढ्न जाने हो भने भविष्यमा हामी कस्तो उपचार गर्छौँ, हाम्रो उपचारको गुणस्तर कस्तो हुन्छ ?’
छलफलमा सहभागी केही आवासीय चिकित्सकहरूले कलेजमा समेत ‘फेक फाइल’ र ‘फेक फ्याकल्टी’ रहेको दाबी गर्दै त्यसबारे छानबिन गर्न पनि माग गरे।
