काभ्रे । काभ्रे जिल्लामा मतदाता नामावली अद्यावधिक गर्ने क्रममा मृत्यु भएका, दोहोरो नाम दर्ता भएका तथा नागरिकता त्याग गरेका गरी कुल २ हजार ६०२ जनाको नाम मतदाता सूचीबाट हटाइएको छ।
जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावलीलाई व्यवस्थित र त्रुटिरहित बनाउने उद्देश्यले उक्त नामहरू हटाएको हो। कार्यालयका सूचना अधिकारी नरेश मानन्धरका अनुसार हटाइएका नाममध्ये मृत्यु भएका १ हजार ४०२ जना, दोहोरो दर्ता भएका १ हजार १९८ जना र नागरिकता त्याग गरेका दुई जना रहेका छन्।
मृत्यु भएका व्यक्तिको नाम हटाउने क्रममा भुम्लु गाउँपालिका सबैभन्दा अगाडि रहेको छ। उक्त पालिकाबाट ३७५ जनाको नाम हटाइएको छ। त्यसैगरी पनौती नगरपालिकाबाट २९६, नमोबुद्ध नगरपालिकाबाट २८१, बनेपा नगरपालिकाबाट २४०, धुलिखेल नगरपालिकाबाट ९७, महाभारत गाउँपालिकाबाट ६५, पाँचखाल नगरपालिकाबाट ३४ र बेथानचोक गाउँपालिकाबाट १४ जनाको नाम हटाइएको छ।
दोहोरो मतदाता दर्ता भएका व्यक्तिको नाम हटाउने क्रममा पनौती नगरपालिकामा सबैभन्दा धेरै १४१ जना परेका छन्। चौँरीदेउराली गाउँपालिकाबाट ११८, नमोबुद्ध नगरपालिकाबाट १०९, पाँचखाल नगरपालिकाबाट १०४, मण्डनदेउपुर नगरपालिकाबाट १०१ र रोशी गाउँपालिकाबाट ९९ जनाको नाम हटाइएको कार्यालयले जनाएको छ।
त्यस्तै, तेमाल गाउँपालिकाबाट ८२ जना, धुलिखेल र बनेपा नगरपालिकाबाट ८०–८० जना, बेथानचोक गाउँपालिकाबाट ७४ जना, भुम्लु गाउँपालिकाबाट ७२ जना, महाभारत गाउँपालिकाबाट ७० जना तथा खानीखोला गाउँपालिकाबाट ६८ जनाको दोहोरो दर्ता हटाइएको छ।
नागरिकता त्याग गरेका व्यक्तिमध्ये पनौती नगरपालिका र मण्डनदेउपुर नगरपालिकाबाट एक–एक जनाको नाम मतदाता नामावलीबाट हटाइएको सूचना अधिकारी मानन्धरले बताए।
तीनवटै कारणलाई समेटेर हेर्दा भुम्लु गाउँपालिकामा सबैभन्दा धेरै ४४७ जनाको नाम हटाइएको छ। पनौती नगरपालिकामा ४३८, नमोबुद्ध नगरपालिकामा ३९०, बनेपा नगरपालिकामा ३२०, धुलिखेल नगरपालिकामा १७७, पाँचखाल नगरपालिकामा १३८ र महाभारत गाउँपालिकामा १३५ जनाको नाम सूचीबाट हटाइएको छ।
यसैगरी, चौँरीदेउराली गाउँपालिकाबाट ११८, मण्डनदेउपुर नगरपालिकाबाट १०२, रोशी गाउँपालिकाबाट ९९, बेथानचोक गाउँपालिकाबाट ८८, तेमाल गाउँपालिकाबाट ८२ र खानीखोला गाउँपालिकाबाट ६८ जनाको नाम हटाइएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी मानन्धरले बताए।
