चितवन । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सीस्थित नयाँ पुलमा वर्षाका कारण थुप्रिएको पहिरो र गेग्रान हटाउने कार्य सुरु गरिएको छ। चाडपर्व नजिकिँदै गर्दा सडकमा सवारीसाधनको आवागमन बढ्ने अनुमान गर्दै सडक डिभिजन कार्यालय भरतपुरले बाटो सहज बनाउने उद्देश्यले सफाइ अभियान अघि बढाएको हो।
वर्षायाममा माथिल्लो भागबाट बगेर आएको लेदो, ढुङ्गा र माटो नयाँ पुलमा जम्मा भएपछि हालसम्म उक्त स्थानमा पुरानो पुलबाट मात्र सवारीसाधन सञ्चालन हुँदै आएका थिए। आगामी चाडपर्वका बेला सवारीसाधनको चाप बढ्ने सम्भावनालाई ध्यानमा राख्दै दुवै पुलबाट यातायात सञ्चालन गर्न सक्ने व्यवस्था मिलाउन डेब्रिज हटाउने काम अघि बढाइएको सडक डिभिजन कार्यालयले जनाएको छ।
सडक सफाइपछि सवारी आवागमनलाई थप सहज बनाउने र सम्भावित जाम कम गर्ने लक्ष्य राखिएको छ। साथै, सफाइ कार्य चलिरहेका बेला सडकमा यात्रा गर्ने सवारी चालकलाई आफ्नो लेनमा रहेर सवारी चलाउन तथा लेन अनुशासन अनिवार्य रूपमा पालना गर्न सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध गरेको छ।
कार्यालयले सडकमा काम भइरहेको अवस्थामा सावधानी अपनाउँदै सुरक्षित यात्रालाई प्राथमिकता दिनसमेत सबै सवारी चालकलाई आग्रह गरेको छ।
