सरकारले भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिका प्रावधानहरू कार्यान्वयनमा कडाइ गरिएको जनाएको छ ।
शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रेस ब्रिफिङको आयोजना गर्दै सो जानकारी दिएको हो । प्रेस ब्रिफिङमा बोल्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि कार्यान्वयनको अवस्थाबारे दोलखा र रामेछाप जिल्लामा अनुगमन गरेको जानकारी दिएका छन् । महासन्धि कार्यान्वयनको अवस्थाबारे क्रमशः सबै जिल्लामा अनुगमन तथा निरीक्षण गरिने जानकारी दिएका छन् ।
उनले धनकुटा, सुनसरी र मोरङका कारागार तथा केही हिरासतमा रहेका थुनुवा र कैदीबन्दीको मानव अधिकार अवस्थाबारे समेत सरकारले निरीक्षण गरेको बताएका छन् । कैदी तथा थुनुवाको मानव अधिकार सुनिश्चित गर्न सम्बन्धित निकायहरूको ध्यानाकर्षण गरिएको समेत बताएका छन् ।
यसैबीच, सरकारले असोज २२ देखि २८ गतेसम्म सिंहदरबारस्थित सबै मन्त्रालय र मन्त्रालय परिसरमा सरसफाइ सप्ताह सञ्चालन गरेको छ । अभियानअन्तर्गत प्रत्येक मन्त्रालयमा सरसफाइसम्बन्धी कामको अनुगमन तथा निरीक्षण गर्न एक जना फोकल पर्सन तोकिएको प्रवक्ता अर्यालले बताएका छन् । सरसफाइसम्बन्धी गतिविधिको नियमित अनुगमन गरी त्यसको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाउनसमेत मन्त्रालयहरूलाई निर्देशन दिइएको उनले जानकारी दिएका छन् ।
उनले भने, ‘यही असोज २२ गतेदेखि २८ गतेसम्म सिंहदरबारका सबै मन्त्रालयभित्र र मन्त्रालयको परिसरमा सरसफाइ गर्नका लागि अभियानस्वरूप सरसफाइ सप्ताह सुरु गरिएको छ । हरेक मन्त्रालयमा एक जना सरसफाइ फोकल पर्सन तोक्ने र उहाँमार्फत सरसफाइ भए–नभएको नियमित रूपमा अनुगमन तथा निरीक्षण गर्ने र सरसफाइसम्बन्धी हुने गरेका कामहरूको ब्रिफिङ प्रधानमन्त्री कार्यालयलाई गर्ने गरी लेखी पठाइएको छ ।
यो बीचमा अनुगमनसम्बन्धी कामहरू समेत भएका छन् । भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिको कार्यान्वयनको अवस्था कस्तो छ भनेर दोलखा र रामेछाप जिल्लामा अनुगमन कार्य सम्पन्न गरिएको छ । त्यसैगरी, धनकुटा, सुनसरी र मोरङका कारागार र केही हिरासतमा पनि अनुगमन गरेर त्यहाँ रहेका थुनुवा तथा कैदीबन्दीहरूको मानव अधिकारसम्बन्धी विषयवस्तुमा पनि अनुगमन तथा निरीक्षण गरिएको छ।’
उनले नागरिकका गुनासाहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्नका लागि समेत काम भइरहेको बताएका छन् ।
