काठमाडौँ । गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीपछि १० जना व्यक्ति सम्पर्कविहीन भएका छन्। उनीहरूको खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोली परिचालन गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ४७ जनाको उद्धार गरिएको छ। बेपत्ता व्यक्तिको खोजी र प्रभावित नागरिकको उद्धारका लागि कुल ३८६ जना सुरक्षाकर्मी परिचालन गरिएको उनले जानकारी दिएका छन्।
उनका अनुसार उद्धार अभियानमा नेपाली सेनाका १२७ जना, नेपाल प्रहरीका ८३ जना र सशस्त्र प्रहरी बलका १७७ जना सुरक्षाकर्मी खटिएका छन्। त्यसैगरी, नेपाली सेनाका चारवटा हेलिकप्टरसमेत प्रभावित क्षेत्रमा परिचालन गरिएका छन्।
गोरखाको चुमनुब्री गाउँपालिका–६ अन्तर्गत लोक्पा र चुम्लिङको बीचमा पहिरो खस्दा सुरुमा उइनगुलुङ खोला अवरुद्ध भएको थियो। आइतबार बिहान करिब साढे ५ बजे सिरिङ्गे हिमालबाट ठूलो पहिरो खसेपछि खोला थुनिएको बताइएको छ। पहिरोका कारण बनेका अस्थायी बाँध फुटेपछि बूढीगण्डकी नदीमा बाढी आएको हो। बाढीले नदी आसपासका क्षेत्रमा रहेका ६ वटा पुलसमेत बगाएको छ।
आरुघाट गाउँपालिकामा रहेको मोटरेबल पुल बाढीले बगाएपछि त्यसको विकल्पमा बेलिब्रिज निर्माण गर्न सकिने सम्भावनाबारे अध्ययन गर्न प्राविधिक टोली खटाइएको डा. उप्रेतीले बताएका छन्।
उनका अनुसार आरुघाट क्षेत्रमा ड्रोनसहितको प्राविधिक टोली पठाएर आवश्यक निरीक्षण तथा अध्ययनको काम अघि बढाइएको छ।
