२७ असोज, धनगढी । सुदूरपश्चिम प्रदेशसभामा बजेटलाई लिएर विवाद बढेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेशसभा बैठक बहिष्कार गर्ने निर्णय गरेको छ। सरकारले मंगलबार दिउँसो १ बजेका लागि बैठक बोलाएर बजेट पारित गर्ने प्रक्रिया अघि बढाउन खोजेपछि कांग्रेसले सदनमा सहभागी नहुने निर्णय गरेको हो।
बजेट उपयुक्त नभएको र सरकारले प्रतिपक्षी दलसँग आवश्यक छलफल तथा समन्वय नगरेको भन्दै बैठक बहिष्कार गर्ने निर्णयमा पुगेको कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले बताए। उनले मंगलबारदेखि प्रदेशसभाका सबै बैठक बहिष्कार गरिने जानकारी दिए।
यसैबीच, बजेट विवाद समाधानका लागि सत्तारूढ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र बजेट संशोधन र छानबिन गर्ने सहमति जुटेको छ। नेकपाले संसदीय छानबिन समिति गठन गर्ने र कात्तिक १५ गतेभित्र पूरक बजेट ल्याउने निर्णय गरेको हो।
मंगलबार बसेको नेकपा संसदीय दलको बैठकले आइतबार प्रदेशसभामा प्रस्तुत बजेट पारित गर्ने तथा बजेटमा देखिएका विवादित विषयलाई संसदीय छानबिनमार्फत टुंग्याउने निर्णय गरेको नेकपाका एक सांसदले जानकारी दिए।
यसअघि आइतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए। बजेटमाथिको छलफल सुरु हुनुअघि नै विवाद उत्पन्न भएपछि प्रदेशसभा बैठकको कामकारबाही प्रभावित भएको थियो।
सत्तारूढ दलले बजेट पारित गरेर विवादित विषयलाई छानबिन समितिमार्फत समाधान गर्ने रणनीति अघि सारेको छ। तर, प्रमुख प्रतिपक्षी कांग्रेसले सदन बहिष्कार गर्ने निर्णय गरेपछि सुदूरपश्चिम प्रदेशसभामा बजेट पारित गर्ने प्रक्रिया राजनीतिक विवादका बीच अघि बढ्ने भएको छ।
