अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच तत्काल लागू हुने गरी ‘ऊर्जा युद्धविराम’ भएको सार्वजनिक घोषणा गरेका छन्। तर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने आफूलाई यस्तो कुनै सम्झौताको जानकारी नभएको बताउँदै आश्चर्य व्यक्त गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मार्फत आइतबार दुवै पक्ष ऊर्जा युद्धविरामका लागि सहमत भएको उल्लेख गरेका छन्। ट्रम्पको यो दाबी सार्वजनिक भएलगत्तै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी समाचार संस्था ‘एक्सिओस’सँग कुरा गर्दै यो विषय आफ्नो लागि नयाँ भएको बताएका छन्। यद्यपि, उनले यदि रुस साँच्चै नै ऊर्जा युद्धविरामका लागि तयार छ भने युक्रेन पनि सो प्रस्ताव स्वीकार गर्न तयार रहेको संकेत दिएका छन्।
यसअघि शनिबार राष्ट्रपति ट्रम्पले रुस युद्ध अन्त्य गर्ने सम्झौताका लागि तयार रहेको तर जेलेन्स्की आफैँ वार्ताबाट पन्छिरहेको आरोप लगाएका थिए। उनले युक्रेनमा नयाँ निर्वाचन हुनुपर्ने र नयाँ नेतृत्वले मस्कोसँग सम्झौता गर्नुपर्ने धारणा राखेका थिए।
यसैबीच, शुक्रबार ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अमेरिकी र विश्व बजारमा डिजेल आपूर्ति गर्ने एक विशाल सम्झौता भएको घोषणा गरेका थिए। उनले यसका लागि पुटिनलाई धन्यवादसमेत दिएका थिए। अर्कोतर्फ, क्रेमलिनले युक्रेनी ड्रोन आक्रमणका कारण शान्ति वार्ताको सम्भावना तत्कालका लागि टरेको बताएको छ। युद्धग्रस्त क्षेत्रमा कूटनीतिक पहलहरू तीव्र भइरहँदा ट्रम्पको पछिल्लो दाबीले अन्तर्राष्ट्रिय वृत्तमा थप अन्योल सिर्जना गरेको छ।
