काठमाडौं । नेपाल र भारतमा देखिएका जेनजी आन्दोलनको पछाडि एउटै शक्ति रहेको भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनले दाबी गरेका छन्। उनले दुवै देशले आपसी सहकार्य गरेर यस्ता घटनाक्रमको सामना गर्नुपर्ने धारणा राखेका छन्।
राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवसँग भएको भेटवार्ताका क्रममा नवीनले यस्तो धारणा व्यक्त गरेको छलफलमा सहभागी एक नेताले जानकारी दिएका छन्।
भेटमा नेपाल र भारतका राजनीतिक, सामाजिक तथा आर्थिक परिस्थितिबारे छलफल भएको थियो। दुवै देशका साझा समस्या पहिचान गरी मिलेर समाधान खोज्नुपर्नेमा नवीनले जोड दिएको बताइएको छ। उनले नेपालमा भएको जेनजी आन्दोलन र भारतमा जारी आन्दोलनलाई एउटै शक्तिले सञ्चालन गरिरहेको दाबी गरे पनि त्यसमा संलग्न शक्ति वा समूहको नाम भने खुलाएका छैनन्।
उक्त भेटमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, पछिल्लो राजनीतिक अवस्था तथा साझा धार्मिक र सांस्कृतिक विरासतका विषयमा पनि विचारविमर्श भएको जनाइएको छ। दुई देशबीच ऐतिहासिक कालदेखि रहँदै आएको सामाजिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने विषयमा समेत छलफल भएको बताइएको छ।
यसैबीच, राष्ट्रिय एकता दलका अध्यक्ष यादवले आगामी मङ्सिर ४ गतेदेखि ‘हिन्दु सुरक्षा र हिन्दु राष्ट्र’ लाई मुख्य एजेन्डा बनाएर मेची–महाकाली पदयात्रा गर्ने तयारी गरिरहेका छन्। उक्त अभियानको तयारीका क्रममा उनले भारतीय राजनीतिक नेतृत्वसँग भेटघाट र संवादलाई पनि अघि बढाएका छन्।
नेपाल र भारतबीचको खुला सीमा, पारिवारिक सम्बन्ध, व्यापार, पर्यटन तथा नागरिकस्तरको आवतजावतलाई महत्त्वपूर्ण पक्षका रूपमा लिँदै ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा पनि भेटवार्तामा छलफल भएको बताइएको छ।
