पोखरा । नेपालको पर्यटकीय आकर्षणलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउने उद्देश्यसहित सात देशका चर्चित ट्राभल कन्टेन्ट क्रिएटर नेपाल आइपुगेका छन्। नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा सञ्चालन हुन लागेको अभियानमा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (यूएई), बङ्गलादेश र श्रीलङ्काका सामग्री निर्माता सहभागी भएका हुन्।
उनीहरूले नेपालका प्राकृतिक सम्पदा, मौलिक कला–संस्कृति, साहसिक पर्यटन तथा स्थानीय जीवनशैली समेटेर भिडियो सामग्री तयार पार्नेछन्। ती सामग्री टिकटकसहित विभिन्न सामाजिक सञ्जालमार्फत विश्वभरका दर्शकमाझ पुर्याउने योजना छ।
अभियानका क्रममा टोलीले पोखरा, चितवन र बर्दियाका प्रमुख पर्यटकीय क्षेत्रको भ्रमण गर्नेछ। नेपाल पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेलका अनुसार क्रिएटरहरूले ती स्थानको प्राकृतिक सुन्दरता, स्थानीय संस्कृति, जनजीवन र पर्यटकीय गतिविधिलाई भिडियोमा प्रस्तुत गर्नेछन्।
फ्लाई दुबईको उडानमार्फत पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका विदेशी सामग्री निर्मातालाई पर्यटन बोर्डका प्रतिनिधि तथा स्थानीय पर्यटन व्यवसायीले स्वागत गरेका थिए।
नेपाल पर्यटन बोर्ड र टिकटकबीच सन् २०२५ अगस्ट १९ मा नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको थियो। सोही सहकार्यअन्तर्गत सुरु गरिएको ‘लाइफ टाइम एक्सपिरियन्स’ अभियानले नेपालका हिमाल, सांस्कृतिक सम्पदा, साहसिक गतिविधि र स्थानीय जीवनशैलीलाई छोटा भिडियोमार्फत विश्वसामु पुर्याउने लक्ष्य राखेको पोखरेलले बताए।
भ्रमण कार्यक्रमअनुसार बङ्गलादेशका अनिवार्न कासेर, श्रीलङ्काका कसुन सम्पथ देगोडा मागागे, ट्युनिसियाका बाल्किस कसौरी र मोहम्मद जेमिल बेरी तथा यूएईका मोहम्मद नाबिलले पोखरा र आसपासका पर्यटकीय क्षेत्रका सामग्री तयार पार्नेछन्।
त्यसैगरी फ्रान्सका जेरेमी ब्युदेटले चितवन पुगेर वन्यजन्तु, राष्ट्रिय निकुञ्ज, प्राकृतिक वातावरण र थारू संस्कृतिलाई आफ्नो सामग्रीमा समेट्नेछन्। पोर्चुगलका ड्यानियल रोक्स पिन्टो र दक्षिण कोरियाका वङ्यु लिले भने बर्दियाको वन्यजन्तु, प्राकृतिक विविधता तथा होमस्टेजस्ता समुदायमा आधारित पर्यटनका सम्भावनालाई प्रस्तुत गर्नेछन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस) ले पर्यटन प्रवर्द्धनका लागि डिजिटल माध्यमलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्। डिजिटल प्लेटफर्ममार्फत अन्तर्राष्ट्रिय दर्शकसम्म पुग्ने यस्ता कार्यक्रमले नेपाली पर्यटनको पहुँच विस्तार गर्न सहयोग पुग्ने उनको अपेक्षा छ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले पनि सात देशका क्रिएटरको सहभागितामा सञ्चालन हुने अभियानले नेपाललाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा चिनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
