काठमाडौं । भारतको नयाँदिल्लीस्थित रामलीला मैदानमा विपक्षी दलहरूको ‘महा–र्याली’ आयोजना हुनुअघि समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई लक्षित गर्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।
अखिलेशले मुख्यमन्त्री योगीले नै उत्तर प्रदेशको मतदाता सूचीबाट एक करोड २७ लाख मतदाताको नाम हटेको स्वीकार गरेको दाबी गरेका छन्। उनले योगीलाई विधान परिषद्को निर्वाचनमा पराजय भोगेपछि मात्रै यस्तो तथ्य स्मरण भएको टिप्पणी गरे।
अखिलेशले भने, “मुख्यमन्त्रीले आफैँ एक करोड २७ लाख मत घटेको स्वीकार गरेका छन्। उनलाई यो कुरा विधान परिषद्को चुनावमा पराजित भएपछि मात्रै याद आयो। डबल इन्जिनको नारा दिनेहरू त्यहीँ डबल शून्य भए।”
उनले निर्वाचनमा प्राप्त हार स्वीकार गर्न नसकेर निर्वाचन आयोगसँगको सहकार्यमा पुनः मतगणना गराइएको आरोपसमेत लगाए। उनका अनुसार एउटै निर्वाचनमा दोहोरो पराजय भोगेपछि मात्रै मतदाता सूचीबाट ठूलो सङ्ख्यामा नाम हटेको विषय उठाइएको हो।
अखिलेशले प्रश्न गर्दै भने, “उनीहरूलाई एकपटकको हार पनि स्वीकार भएन र निर्वाचन आयोगसँग मिलेर पुनः मतगणना गराए। डबल इन्जिन सरकारले एउटै चुनावमा दोहोरो हार व्यहोर्यो। त्यसपछि अहिले एक करोड २७ लाख मत हिन्दुहरूको होइन भन्ने कुरा कसरी याद आयो? यस्तो तथ्याङ्क कसले उपलब्ध गरायो?”
सरकारले ठूलो सङ्ख्यामा लाभग्राहीको नाम मतदाता सूचीमा नरहेको विषय उठाइरहेको सन्दर्भमा अखिलेशले त्यस्ता व्यक्तिहरूलाई पनि रामलीला मैदानमा हुने विपक्षी दलहरूको महा–र्यालीमा सहभागी हुन आग्रह गरेका छन्।
भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचारअनुसार उत्तर प्रदेश प्रदेश कार्यसमितिको बैठकमा मुख्यमन्त्री योगी आदित्यनाथले राज्यको मतदाता सूचीबाट एक करोड २७ लाख हिन्दुको नाम हटेको दाबी गरेका थिए। योगीको यही अभिव्यक्तिलाई आधार बनाएर अखिलेशले उनीमाथि व्यङ्ग्य गरेका हुन्।
