धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ स्थित मझिमटारमा सोमबार तीन घण्टाका लागि पृथ्वी राजमार्गमा सवारी आवागमन रोकिने भएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार आकाशे पुल निर्माण र सडक स्तरोन्नतिको कामका लागि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उक्त खण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ।
नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) बाट प्राप्त सूचनाका आधारमा प्रशासनले राजमार्ग बन्द हुने जानकारी सार्वजनिक गरेको हो।
प्रशासनले सडक अवरुद्ध रहने समयमा यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। साथै, यात्रा गर्दा ट्राफिक नियम र सडक अनुशासनको पूर्ण पालना गर्नसमेत अनुरोध गरेको छ।
