१५ कात्तिक, काठमाडौं । बाँकेको जानकी गाउँपालिका–५ स्थित बकसपुरमा रहेको अम्बे स्टिल सरिया उद्योगमा आगलागी हुँदा आठ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था मध्यम रहेको छ भने अन्य छ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
आगलागीमा परी घाइते हुनेमा बाँकेका पाँच जना र भारतको बहराइच जिल्लाका तीन जना रहेका छन्।
घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लुद्रबहादुर केसीको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो।
नेपालगञ्ज उपमहानगरपालिकाका दुईवटा र कोहलपुर नगरपालिकाको एउटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको संयुक्त प्रयासमा बिहान ८ः१५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आगलागीमा घाइते भएका शिवप्रसाद चमार र रामदिन हरिजनलाई थप उपचारका लागि बिहान ८ः४५ बजे भारतको लखनउ पठाइएको छ। अन्य घाइतेहरूको उपचार नेपालगञ्जस्थित भेरी अस्पतालमा भइरहेको छ।
प्रहरीका अनुसार आगलागीबाट भएको अन्य भौतिक क्षतिको विवरण भने अझै प्राप्त हुन सकेको छैन।
आगलागीमा घाइते हुनेहरूको विवरण:
1. शिवप्रसाद चमार, २८ वर्ष, जानकी गाउँपालिका–५, बाँके (अवस्था मध्यम)।
2. रामदिन हरिजन, २२ वर्ष, जानकी गाउँपालिका–५, बाँके (अवस्था मध्यम)।
3. प्रेम धोबी, २४ वर्ष, जानकी गाउँपालिका–५, बाँके (अवस्था सामान्य)।
4. दिलीपकुमार यादव, २९ वर्ष, जानकी गाउँपालिका–५, बाँके (अवस्था सामान्य)।
5. लक्ष्मीराम यादव, ३५ वर्ष, जानकी गाउँपालिका–५, बाँके (अवस्था सामान्य)।
6. राजकुमार निषाद, २९ वर्ष, कठौतिया, बहराइच, भारत (अवस्था सामान्य)।
7. नशिवकुमार निषाद, २४ वर्ष, कठौतिया, बहराइच, भारत (अवस्था सामान्य)।
8. विनोदकुमार निषाद, २५ वर्ष, कठौतिया, बहराइच, भारत (अवस्था सामान्य)।
