मृत्यु हुनेमा कञ्चनपुरको बेदकोट नगरपालिका–स्थित दैजीका २० वर्षीय मनिष बोहरा रहेका छन्। भारी हिमपात भएपछि उनी गत शुक्रबारदेखि सम्पर्कविहीन भएका थिए।
बाजुराका प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार युवकको खोजीका लागि आइतबार बिहान सदरमुकामबाट हेलिकप्टरमार्फत सुरक्षाकर्मीको टोली परिचालन गरिएको थियो। खोजीका क्रममा बोहरा बडीमालिकास्थित त्रिवेणी पाटन नजिकै मृत फेला परेका हुन्।
प्रमुख जिल्ला अधिकारी रिजालले मृतकको शवसँगै खोजी कार्यमा खटिएका सुरक्षाकर्मीलाई पनि हेलिकप्टरमार्फत उद्धार गरी ल्याउने प्रयास भइरहेको जानकारी दिए।
यसअघि हिमपातका कारण बडीमालिकाको त्रिवेणी पाटनमा अलपत्र परेका कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का २१ वर्षीय सागर कार्कीको शनिबार दिउँसो हेलिकप्टरमार्फत उद्धार गरिएको थियो। उनलाई मार्तडी ल्याइएको थियो।
चार हजार दुई सय मिटर उचाइमा रहेको बडीमालिका माताको दर्शन गरेर फर्कने क्रममा हिमपात भएपछि कार्की शुक्रबारदेखि त्रिवेणी पाटनस्थित धर्मशालामा आश्रय लिएर बसेका थिए।
