काठमाडौँ । नेपालको स्वास्थ्य सेवालाई थप गुणस्तरीय, सुरक्षित र प्रभावकारी बनाउने लक्ष्यसहित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) को आयोजनामा तीनदिने राष्ट्रिय कार्यशाला सम्पन्न भएको छ ।
बुढानीलकण्ठस्थित पार्क भिलेज होटल एन्ड रिसोर्टमा कात्तिक १४ देखि १६ गतेसम्म सञ्चालन भएको ‘स्वास्थ्य सेवाको गुणस्तर सुधार तथा बिरामी सुरक्षा’ विषयक कार्यशालामा देशभरका २६ मेडिकल कलेज तथा अस्पतालका ६४ प्रतिनिधि सहभागी भएका थिए । कार्यक्रममा भारतको भेलोर र बङ्गलादेशका स्वास्थ्य क्षेत्रका विज्ञहरूले पनि सहभागिता जनाउँदै अन्तर्राष्ट्रिय अनुभव तथा अभ्यासबारे जानकारी आदानप्रदान गरेका थिए ।
स्वास्थ्य सेवाका क्रममा हुन सक्ने रोकथामयोग्य गल्ती र जोखिम घटाउँदै बिरामीको सुरक्षा सुनिश्चित गर्नु कार्यशालाको प्रमुख उद्देश्य रहेको आयोजकले जनाएको छ । अस्पताल तथा स्वास्थ्य पूर्वाधार विस्तारसँगै नागरिकले सुरक्षित, प्रभावकारी र सम्मानजनक उपचार पाउने वातावरण निर्माण गर्नु पनि उत्तिकै आवश्यक रहेको विषयमा कार्यशालामा जोड दिइएको थियो ।
गुणस्तरीय स्वास्थ्य सेवा रोगको उपचारमा मात्र सीमित नहुने भएकाले उपचार प्रक्रियामा हुन सक्ने सम्भावित हानिबाट बिरामीलाई जोगाउनु पनि यसको महत्त्वपूर्ण पक्ष हो । त्यसैले बिरामी सुरक्षालाई स्वास्थ्य सेवाको अनिवार्य हिस्सा बनाउँदै अस्पतालहरूमा संस्थागत उत्तरदायित्व र गुणस्तर सुधारको अभ्यास विकास गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
कार्यशालाको अवधारणा तथा सुरुवात त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. सुभाषप्रसाद आचार्यको पहलमा भएको हो । अस्पतालका सहायक निर्देशक तथा गुणस्तर सुधार एवं बिरामी सुरक्षा इकाईका प्रमुख प्रा.डा. पवनराज चालिसेको नेतृत्व र समन्वयमा कार्यक्रम सञ्चालन गरिएको थियो ।
स्वास्थ्य सेवालाई सङ्ख्यात्मक विस्तारमा मात्र केन्द्रित नराखी सुरक्षित, भरपर्दो र बिरामीमैत्री बनाउने दिशामा कार्यशालाले योगदान पुर्याउने अपेक्षा गरिएको छ । यसले नेपाली स्वास्थ्य संस्थामा गुणस्तर सुधार र बिरामी सुरक्षासम्बन्धी अभ्यासलाई संस्थागत गर्न सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ ।
