बाढीबाट प्रभावित ५०० घरपरिवारलाई पुनर्स्थापनामा सहयोग गर्ने उद्देश्यसहित गत कात्तिक ११ गते नुवाकोट पुगेको टोलीले स्थानीयवासीको आग्रहअनुसार घरभित्र थुप्रिएको माटो, लेदो तथा अन्य भग्नावशेष हटाउने काम गरिरहेको छ।
श्रमदान टोलीले बाढीपीडित नानीमाया श्रेष्ठको घर सरसफाइ र मर्मतसम्भार गरी पुनः बस्नयोग्य बनाएर हस्तान्तरण गरेको छ। महासंघका उपाध्यक्ष तथा श्रमिक टोलीका नेतृत्वकर्ता सोमबहादुर तामाङले उक्त जानकारी दिएका हुन्।
गत भदौ १० गते आएको बाढीले लेदो र माटो घरभित्र थुपारेपछि बस्नै नमिल्ने अवस्थामा पुगेको श्रेष्ठको घर श्रमदान टोलीले सफा र मर्मत गरेको हो। घर पुनः बस्नयोग्य भएपछि श्रेष्ठले सहयोग गर्ने श्रमदान टोलीप्रति आभार व्यक्त गरेकी छन्।
यसअघि महासंघले गत कात्तिक १० गतेदेखि रसुवा र नुवाकोटका बाढीपीडित परिवारलाई सहयोग गर्ने उद्देश्यले करिब ५० सदस्यीय टोली परिचालन गरी श्रमदान अभियान सुरु गरेको थियो।
महासंघका अध्यक्ष जगत सिंखडाले विपद्का समयमा श्रमिक वर्गले आपसी एकता र श्रममार्फत प्रभावित समुदायलाई सहयोग गर्नुपर्ने मान्यताका आधारमा अभियान सञ्चालन गरिएको बताएका थिए।
उनका अनुसार अभियानमार्फत कम्तीमा ५०० घरको सरसफाइ, मर्मतसम्भार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने लक्ष्य राखिएको छ।
